बङ्गालको खाडीमा विकसित ‘अरनब’ चक्रवातका कारण नेपालमा पर्न सक्ने प्रभावलाई ध्यानमा राख्दै पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पथप्रदर्शक, पदयात्री र पर्यटकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाअनुसार कात्तिक १२ गते रातिदेखि नेपालमा पनि चक्रवातको प्रभाव सुरु हुनेछ। कात्तिक १३ र १४ गते तराई, चुरे र मध्यपहाडी क्षेत्रमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेको टानले जनाएको छ।








