चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्ममा नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख पुगेको छ । यो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५ दशमलव ०८ प्रतिशत हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको शुरूआतमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रहेकामा कात्तिक मसान्तसम्ममा विनिमय दरमा भएको नाफासहित ऋण दायित्व घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख कायम भएको हो ।