काठमाडाैं,१४ असार

चितवनका सातवटै पालिकामा गाईभैँसीमा लाग्ने लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको छ । सबै पालिकामा पालिएका पशुमा रोग फैलिएको हो । ती पालिकामा छ हजार सात सय ९९ गाईभैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ ।

जिल्लामा ९३ हजार एक सय ८२ गाई र ७२ हजार ९७८ भैँसी पालिएको तथ्याङ्क छ । तीमध्ये छ हजार पाँच सय ३९ गाई र दुई सय ६० भैँसीमा यो रोगको सङ्क्रमण देखिएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका अनुसार हालसम्म यस रोगका कारण एक सय ७६ गाई मरेका छन्। 

सबैभन्दा धेरै इच्छाकामना गाउँपालिकामा गाई मरेका छन् भने कम माडी नगरपालिकामा मरेको कार्यालयका पशु विकास अधिकृत डा. रामचन्द्र आचार्यले जानकारी दिए । 

उनका अनुसार इच्छाकामना गाउँपालिकामा ६२, भरतपुर महानगरपालिकामा ३४, राप्ती नगरपालिकामा ४०, रत्ननगर नगरपालिकामा १४, कालिका नगरपालिकामा १०, खैरहनी नगरपालिकामा १० र माडी नगरपालिकामा छ वटा गाई मरेका छन् ।

लम्पी स्किनका कारण मरेका गाईमध्ये भरतपुर महानगरमा पाँच गाईको बिमा गरिएको छ । जिल्लाका तीन पालिकामा पालिएका १५ हजार ९० गाईभैँसीमा रोगविरुद्धको खोप दिइएको छ । भरतपुरमा तीन हजार सात सय ९०, रत्ननगरमा सात हजार र राप्तीमा चार हजार तीन सय गाईभैँसीलाई खोप लगाइएको छ । स्थानीय पालिका र सहकारीमार्फत खोप खरिद गरी लगाइएको हो । 

विज्ञ केन्द्रबाट प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई औषधि वितरण गरिएको छ । केन्द्रमा बजेट अभावका कारण स्थानीय पालिका, सहकारी र कृषक आफैँले खरिद गरी खोप लगाउने गरेका छन् ।

गर्मीयाममा लामखुट्टे, झिङ्गालगायतका कारण यो रोगको प्रकोप देखिने गरेको आचार्यले जानकारी दिए । 

गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, र्‍याल काँढ्ने, लिम्फनोड सुक्नेजस्ता लक्षण देखापर्छ ।