२३ जेठ, काठमाडाै

अर्थमन्त्री डा. प्रकाशशरण महतले  इमानदार भएर काम गर्दा साह्रै कठिन हुने बताएका छन्। यस्तै उनले इमानदार हुँदा प्रश्न माथी प्रश्न उठ्ने भनी आपत्ति जनाएका छन्।

‘इमान्दार भएर काम गर्दा झन् धेरै प्रश्न उठ्दो रहेछ। मैले अर्थमन्त्रीका रुपमा सुरुदेखि नै काम गर्दा इमानको ख्याल गरेको छु’, उनले भने, ‘इमान्दार हुन गाह्रो रहेछ। बजेट निर्माणका क्रममा नीतिगत सुधारका आवश्यकतालाई ध्यान दिएका थियौँ। हामीले करका दर हेरफेर गर्दा एउटा निश्चित मापदण्ड तय गरेका थियौँ। त्यसबाट दायाँबायाँ भएको छैन।’

महतले आर्थिक विधेयकलाई अन्तिम रुप दिने क्रममा कानुन मन्त्रालयको पनि प्रतिनिधित्व हुने बताए। आर्थिक विधेयक बनाउँदा कानुन मन्त्रालयका सचिव नै आएर हेरेको पनि बताए। ‘कानुन सचिवले चेकजाँच गरिसकेपछि अर्थ सचिव र राजस्व सचिवले प्रमाणित गर्ने हो। त्यसपछि १५ गते बिहान मात्रै त्यो छपाइमा जाने हो’, उनले भने, ‘करका सबै कुरा सम्मिलित भएको दस्तावेज छोटो समयमा बनाइसक्नुपर्ने दबाब हुन्छ। आर्थिक विधेयक बनाउँदा फोन पनि अफ गरिएको हुन्छ। अरु कसैलाई प्रवेश गर्ने अधिकार हुँदैन।’