काठमाडौं । प्रहरीले सिन्धुलीमा एसबीआई बैंक लुटपाट गर्नेहरुलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । मंगलबार साँझ साढे ७ बजेतिर सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारमा रहेको एसबीआई बैंकको शाखामा लुटपाट भएको थियो ।
प्रहरीले लुटपाटमा संलग्न सात जनालाई घटनाको तीन दिनपछि पक्राउ गरेर सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका भागवत सिंह थापा, सिन्धुली घ्याङलेखका–२ का ४७ वर्षीय चतुरमान बज्यु, सोहीका ४४ वर्षीय छविलाल स्याङ्ताङ, चितवन भरतपुर–२ का २४ वर्षिय शशंका श्रेष्ठ, नुवाकोटका २३ वर्षीय मिलन गिरी, सोहीका विवेक मगर पक्राउ परेका हुन् । एक जना भने नाबालक रहेका छन् ।
प्रहरीका अनुसार लुटपाट गर्ने समूहले बैंकका सुरक्षा गार्ड रुद्रबहादुर कार्की तथा बैंकका कर्मचारीलाई समेत नियन्त्रणमा राखेका थिए । उनीहरुलाई नियन्त्रणमा लिएर मुखमा टेप बाँधिएको पाइएको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा पक्राउ परेकाहरुले काभ्रेबाट टाटा सुमो जीप बेहुली लिन जाने भन्दै भाडामा लिएर गएको खुलेको छ ।
उनीहरुले बीएडी ०३९८ नम्बरको टाटा सुमो जीप प्रयोग गरेका थिए ।
प्रहरीले चालक भगत सिंह थापालाई पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार बैंकको तीन करोड १० लाख रुपैयाँ लुटपाट भएको हो ।
लुटिएको रकममध्ये एक करोड ८० लाख १० हजार ५०० सय रुपैयाँ बुधबार बिहान नजिकैको जंगलमा फालिएको अवस्थामा बोराभित्र फेला परेको थियो । यो त्यो बाहेक पक्राउ परेकाहरुबाट थप ८३ लाख ३५ हजार रुपैयाँसमेत बरामद भएको छ ।
पक्राउ परेकाहरुबाट नक्कली पेस्तोल, लुटपाट गर्न प्रयोग गरिएको लुगाकपडा तथा दुई थान खुकुरी समेत बराल भएको छ ।
मुख्य योजनाकार नै घरधनी
प्रहरीका अनुसार लुटिएको एसबीआई बैंकको शाखा घ्याङलेख गाउँपालिका–२ का छविलालको घरमा भाडामा राखिएको थियो । तर, घरधनी छविलाल र सोहीका चतुरमानको योजनामा मंगलबार बैंक लुटिएको खुलेको हो ।
प्रहरीले बैंक लुटपाटमा संलग्न पाँच जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा घरधनीकै संलग्नता खुलाएको हो । उनलाई सिन्धुली प्रहरीले बिहीबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा अन्य भने मजदुर हुन् । उनीहरु घरमा रंग लगाउने काम गर्ने गरेको खुलेको छ । अनुसन्धानका क्रममा बैंक राखिएका घरभेटी छविलालले बैंक लुट्ने योजना गएको असोज महिनामै बनाएका थिए ।
तर, लामो समयपछिको योजनाअनुसार मंगलबार बैंक लुटिएको सिन्धुलीका एसपी सुवेदीको भनाइ छ ।
उनी भन्छन्, ‘‘बैंक लुट्ने योजना असोजबाट नै गरेको देखिन्छ । तर, विभिन्न सयममा सफल नभएपछि मंगलबार लुटिएको हो ।’’
उनका अनुसार मंगलबार अघिसमेत पुस २३ गते र २८ गते लुट्ने योजना असफल भएको देखिको छ ।
प्रहरीको अनुसन्धानका क्रममा बंैक लुट्न २३ गते काठमाडौंबाट दुईवटा मोटरसाइकलमा चारजना बैंकको शाखा घ्याङलेख पुगेका थिए ।
तर, लुट्ने योजना सफल नभएपछि उनीहरु फर्किएका थिए । बंंैक लुट्नकै लागि उनीहरुले त्यो दिन पनि मोटरसाइकल भाडामा लिएका थिए । २८ गते समेत उनीहरुले बैंक लुट्न काठमाडौंको कोटेश्वरमा बनाएको योजना ढिला भएपछि उनीहरु रोकिएको पाइएको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलाएको छ ।
मंगलबार भने बिहान योजनासहित काभ्रेको बनेपासम्म सार्वजनिक यातायात चढेर पुगेका थिए । त्यहाँबाट भने उनीहरुले जीप बुक गरेर गएका थिए । प्रहरीको अनुसन्धानका क्रममा बैंक लुट्न पुगेका शशांक श्रेष्ठ, मिलन गिरी, विवेक मगरसित छविलालको लामो समयदेखि सम्पर्क भएको खुलेको देखिएको छ ।








