काठमाडौं । अमेरिकाको ओरेगन राज्यको तटीय क्षेत्रमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ । यस भूकम्पको तीव्रता ६.२ म्यग्निच्ययुड मापन गरिएको छ । यद्यपि, यसबाट हालसम्म कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षतिको खबर आएको छैन ।
जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सका अनुसार भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट १० किलोमिटर गहिराइमा थियो । नेसनल सुनामी वार्निङ सेन्टरले हालसम्म सुनामीसम्बन्धी कुनै पनि चेतावनी (अलर्ट) जारी गरेको छैन ।
भूकम्पको धक्का महसुस गरिएको यो क्षेत्र ओरेगन र क्यालिफोर्नियाको सीमानामा पर्दछ, जहाँ बारम्बार भूकम्प गइरहन्छ । यस क्षेत्रमा आउने अधिकांश भूकम्पहरू जमिनको धेरै गहिराइमा हुने भएकाले प्रायः सतहमा महसुस गरिँदैन ।
यसअघि गत वर्ष सेप्टेम्बरमा पनि ओरेगनमा भूकम्पको धक्का महसुस गरिएको थियो । यो क्षेत्र ‘कास्केडिया सबडक्सन जोन’ को हिस्सा हो ।
कास्केडिया जोन उत्तरी भ्याङ्कुभर टापुदेखि उत्तरी क्यालिफोर्नियासम्म फैलिएको छ र यसलाई पृथ्वीको सबैभन्दा शक्तिशाली भूकम्प क्षेत्रहरूमध्ये एक मानिन्छ ।
सन् १७०० मा यहाँ ९.० म्याग्निच्युडको विनाशकारी भूकम्प आएको थियो, जसले भीषण सुनामी निम्त्याएको थियो ।
वैज्ञानिकहरूले यदि भविष्यमा पुनः त्यस्तै तीव्रताको भूकम्प र सुनामी आएमा तटीय इलाकाहरूमा ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएका छन् ।








