काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै महानगरपालिकाको आकस्मिक कार्यपालिका बैठक बोलाइएको छ।
मेयर शाहको राजीनामासँगै स्वतः कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेकी उपमेयर सुनिता डंगोलले आज अपराह्न ४:३० बजेका लागि बैठक बोलाएकी हुन्।
शाहले आइतबार नै उपप्रमुख डंगोलसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका थिए। पत्रमा उनले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन्।
मेयर पदबाट राजीनामा दिएपछि शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालय पुगेका थिए। त्यहाँ उनले पार्टीको वरिष्ठ नेताका रूपमा पदभार सम्हालेका छन्। पदभार सम्हालेको केही बेरमै उनी कार्यालयबाट निस्किएका थिए।
बालेन शाह र रास्वपा सभापति रवि लामिछाने आजै जनकपुरधाम जाने कार्यक्रम तय भएको छ। त्यहाँबाट सोमबारदेखि उनीहरूले संयुक्त रूपमा चुनावी अभियानको सुरुवात गर्ने बताइएको छ।








