पोखरा । गण्डकी प्रदेशबाट महिला क्लष्टरमा नेकपा (एमाले)की सम्झना देवकोटा राष्ट्रियसभा सदस्यमा विजयी भएकी छन् । राष्ट्रियसभा निर्वाचनका लागि आइतबार गण्डकी प्रदेशको राजधानी पोखरामा मतदान भएको थियो । कांग्रेससँगको सहकार्यमा एमालेबाट उमेदवार बनेकी उनले पाँच हजार १४ मतभार पाइन् ।

गण्डकीका २२८ मतदतामध्ये २२३ मत खसेको थियो । मतदानमा सहभागी नभएकामध्ये राप्रपाका दुईजना सांसद र सत्ता गठबन्धनका तीनजना पालिका प्रतिनिधि छन् ।

यसरी हिसाब गर्दा सत्ता गठबन्धनका उमेदवारले पाँच हजार १०५ मतभार पाउनुपर्नेमा देवकोटाले ९१ मतभार कम पाएकी हुन् ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीबाट गोमा घिमिरे र राष्ट्रिय जनमोर्चाले लक्ष्मी बास्कोटालाई उमेदवार बनाएको थियो ।