मोरङ । पूर्वाञ्चल विश्वविद्यालयले आगामी माघ २९ र फागुन १ गते दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ ।

‘हिमालयी भविष्यको परिकल्पनाः दिगोपन र विकासका मार्गहरू’ भन्ने मूल विषयमा आधारित रहेर मोरङको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा यो विशेष प्राज्ञिक कार्यक्रम सञ्चालन हुन लागेको हो ।

विश्वविद्यालयले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै ‘पियुई–कन २०२६’ आयोजना गर्नेबारे जानकारी दिएको हो ।

सम्मेलनमा नेपालसहित भारत, नर्वे, युक्रेन, थाइल्याण्ड, दक्षिण अफ्रिका, बङ्गलादेश र अमेरिका लगायत १२ भन्दा बढी देशका ३०० भन्दा बढी प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता तथा विद्यार्थीहरूको सहभागिता रहनेछ ।

सम्मेलनको मुख्य उद्देश्य हिमालय क्षेत्रको दिगोपन, विकास, जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे गहन प्राज्ञिक बहस र विमर्श गर्नु रहेको छ ।

यस अन्तर्गत १२ भन्दा बढी विषयगत विधाहरूमा केन्द्रित रहेर विज्ञहरूले मुख्य मन्तव्य प्रस्तुत गर्नेछन्। सम्मेलनका लागि १८१ वटा संक्षिप्त प्रतिवेदनहरू प्राप्त भएकोमा करिब १५० वटा अनुसन्धान कार्यपत्रहरू सहभागीहरूले प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।

विश्वविद्यालयका अनुसार यस कार्यक्रमले देशको आवश्यकता अनुसारका स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विशेष शैक्षिक कार्यक्रमहरू पहिचान गर्न र भविष्यमा विश्वविद्यालय अन्तर्गत अनुसन्धान केन्द्रहरू सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

यस सम्मेलनको आयोजनाका लागि सुन्दरहरैँचा नगरपालिका, विश्व वन्यजन्तु कोष नेपाल, एम.एम. ग्रुप, होटल नेपालीरिका र नबिल बैंक लगायतका विभिन्न सङ्घ–संस्थाहरूले सहयोग गरेका छन् ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वको प्रमुख आतिथ्यतामा उद्घाटन गरिने यस सम्मेलनको संरक्षकमा विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार रहेका छन् । १३ सदस्यीय आयोजक समितिको नेतृत्व भने संकायाध्यक्ष प्रा.डा. भोलानाथ शर्मा घिमिरेले गरेका छन् ।