निर्वाचन केवल सरकार चयन गर्ने गणितीय प्रक्रिया मात्रै होइन । यो नागरिक सहभागितामार्फत लोकतन्त्र सुदृढीकरणको सबैभन्दा प्रभावकारी माध्यम पनि हो । प्रतिनिधिहरू आफ्ना एजेन्डा लिएर चुनावी मैदानमा प्रस्तुत हुन्छन् र त्यसै आधारमा जनताले आफ्नो स्वतन्त्र मताधिकार प्रयोग गरी योग्य उम्मेदवार छान्छन् ।
तर यसको प्रयोग नेपालमा लोकतन्त्र आगमनको लगभग दुई दशकसम्म पनि सत्ताको कुर्सीमा उहीँ पात्र र प्रवृत्तिको पुनरावृत्ति हेर्दा यो लोकतन्त्र संस्थागत नभई राजनीतिक गुण्डागर्दीको चलनलाई निरन्तरता दिने वैधानिक माध्यम जस्तै बनेको छ ।
कतिपय ठाउँमा शक्तिकै आडमा बुथसमेत कब्जा गरेर चुनाव जितेका तथ्य पनि छन् । प्रतिनिधिसभा निर्वाचन ०७९ को पूर्ण कार्यकाल नसकिँदै परिस्थितिवश नागरिक माझ पुनः मत प्रयोगको अवसर आइपरेको छ । बहुदलीय लोकतन्त्रमा आधारित स्थिर सरकार चाहने मुलुकका निम्ति यो सायदै देख्न र भोग्न विवश क्षण हो ।
यतिबेला निर्वाचन क्षेत्र झापा– ५ हटस्पट बनेको छ । यसको मुख्य केन्द्रमा छन् बालेन, आम जनतामा उनको महिमा मण्डनको खास कारण ओलीलाई चुनौती दिँदैछन् भन्ने छ । तर स्मरण रहोस्, ०७९ को संसदीय निर्वाचनमा पनि जो बालेनभन्दा अघि नै स्वतन्त्र उम्मेदवारका रूपमा केपी ओलीविरुद्ध वैचारिक मेनिफेस्टोसहित उभिएका थिए । ती हुन् लेखक तथा नागरिक अभियन्ता युग पाठक ।
खासमा उनी झापा–५ मा प्रकट हुनु अघि जेठमै स्थानीय निर्वाचनमा काठमाडौँको मेयर पदमा लड्ने हल्ला पनि थियो । तर स्वतन्त्र लहरको होहल्ला माझ काठमाडौँमा बालेन झुल्किए । युग पाठक भने मंसिरमा प्रतिनिधिसभाका लागि राजधानीबाट मोफसलमा पुगे । यहाँसम्म स्वतन्त्र नामको ट्रेन्ड दल भित्र कि दल बाहिर भनेर आफूलाई मतदातासामु प्रस्तुत हुने केवल साझा चिनारी थियो ।
तर राजनीतिक विचारको हिसाबले पाठक र बालेन बिलकुलै दुई फरक ध्रुव हुन् । युग पाठक राष्ट्रवादी भाष्यप्रति सचेत आलोचक हुन् भने बालेन भावनात्मक राष्ट्रवादका कट्टर समर्थक । बालेनको चुनाव चिह्न लौरो थियो भने युग पाठकको चुनाव चिह्न पुतली । यतिखेर युग पाठकझैँ ओलीसामु बालेन उभिएका छन् । तर दृश्य फरक छ ।
युग पाठकले चुनाव प्रचार–प्रसारका लागि बालेनले जस्तै दलबलका साथ लोक रिझ्याईं गरेनन् । वास्तवमा को हुन् युग पाठक ? जो चुनावी तामझाम बिना केवल एकजना हितैषी साथ बस चढेर ओलीगढ झापा पुगेका थिए ।
युग पाठक सत्ता र स्थापित इतिहासलाई प्रश्न गर्ने समकालीन बौद्धिक व्यक्ति हुन् । प्रगतिशील राजनीतिक विचारको पृष्ठभूमिमा स्थापित उनको आलोचनात्मक दृष्टिकोणलाई उनी सामूहिक चेतनाका रूपमा जोड्ने आन्दोलनमा थिए । त्यसलाई उनले उत्स्रवण आन्दोलन अर्थात ‘ओजुलुसन मुभमेन्ट’ नाम दिएका थिए । यसको अर्थ हत्केलाले केही उजाउने भन्ने हुन्छ ।
दर्शनमा यसको प्रयोग लाक्षणिक अर्थमा विचारको उभारलाई अञ्जुलीको स्वरूपले उघार्नु हो । यसले विद्यमान नेपाली समाजका मूल समस्या उजागर र समाधान खोज्न प्रेरित गर्छ । नेपाली समाज विविध समस्याले घेरिएको छ । यस सबैका पछाडि उनले दार्शनिक सङ्कट रहेको निष्कर्ष निकाल्छन् । उनका अनुसार जमिनसँग जोडिएको नेपाली समाजको जरा कृषिको समाप्तिसँगै रेमिटेन्समा परनिर्भर अर्थतन्त्र उदयको मूल कारण हो– ‘युरो–उपनिवेशी व्यूह’ ।
यसले निर्माण गरेको विश्वव्यापी विकास र विकारको दलदलमा नेपाली समाज मात्र होइन, पूरै विश्व फसेको तर्क गर्छन् उनी । भविष्यको चिन्ता र वर्तमानको निकास खोज्नु यस दर्शनको उपदेयता हो । जसले प्रकृति, स्थानीय ज्ञान र जन–जनको शिर उठाउने मौलिक अभियान प्रारम्भ गरी विकास र विचारको युरो–उपनिवेशी व्यूहबाट निस्कन आग्रह गर्छ ।
विगत चार वर्षदेखि डिजिटल पत्रिका चेतलुङमार्फत उनले वैचारिक अभियान पनि चलाए । तर, बहुराष्ट्रिय कम्पनीका विज्ञापनमुखी बजार–केन्द्रित मिडियासामु विचारको आँधीबेहरी उठाउने प्रयास असफल रह्यो ।
मिथकमार्फत आफ्ना विचार भन्ने लेखक युग पाठकको ‘उर्गेनको घोडा’ उपन्यास माओवादी जनयुद्धले उब्जाएका केही विरोधाभासी प्रश्नलाई न्यायपूर्ण ढङ्गले जवाफ दिने सशक्त कृति हो । यसले सीमान्तकृत समुदाय र आवाजविहीन वर्गप्रति संवेदनशील भएर राज्यलाई प्रश्न गर्छ ।
अर्को ‘माङ्गेना’ पुस्तक साहित्यमा एक विचारको उभार हो । यसले राष्ट्रवादी भाष्यप्रति पनि प्रखर आलोचनात्मक चेत प्रकट गर्छ । जुन किताब अत्यधिक प्रशंसा साथै विवादास्पद पनि रह्यो । उनलाई नेपाली समाजको प्रगतिशील तप्काले सम्मान र अतिराष्ट्रवादी तप्काले कट्टर आलोचनाको नजरले हेर्छ ।
ओलीको अकर्मण्यताविरुद्ध होस् या कुनै पनि सरकार हुँदा राज्यसत्ताको अलोकतान्त्रिक कदम विरुद्ध सयौँ लेख लेखे उनले । तर दुर्भाग्य नै भन्नु पर्ला नेपाली समाजले युगलाई चिन्दैन बालेन चिन्छ । किनकि यो विचार र भिडको द्वन्द्वात्मक युग हो । जहाँ विचारलाई पराजित गरेर भिडको बिजय हुन्छ, बहुमतको राजनीतिमा यसलाई केही हदसम्म लोकतान्त्रिक प्रकिया मान्न त सकिएला तर बिचारहीन राजनीतिको अफिममा लट्ठिएको समाजले भोग्ने दुर्दशा अन्ततः यही नै हो यो ।
यतिबेला राजनीतिमा विचार भन्ने चीज कुनै लोपोन्मुख चराको नाम जस्तै छ । आजको पुस्ताले राजनीति, इतिहास, दर्शन र समाज खासै केही पढ्दैन । पढ्ने सिमित पाठकहरूमा पनि सतही समझ छ । सामाजिक जीवन आफैँमा राजनीतिमय छ । विचार र व्यवहारको तालमेल मिलाउन जाने पनि नजाने पनि आखिर लेखकले लेख्ने साहित्य र सिद्धान्त नै हो ।
जो पाठकीय विचारको शुष्म झ्यालबाट मन–मस्तिष्कमा पुगेर विद्रोहको बीउ रोप्न सक्छ । सायद यतिबेला युग पाठक आफ्नो कुनै अर्धलिखित उपन्यासको पुरानो पाण्डुलिपि खोतल्दै होलान ।
बालेन, युग पाठकको राजनीतिक, वैचारिक पहुँचको छेउछाउसम्म मुस्किलैले पुग्लान् । तर युग पाठकलाई झापाले चिनेन । अहिले झापाको चुनावी प्रचार–प्रसार हेर्दा देश–मधेस बालेनमय उर्फ घण्टीमय छ । भिडको आकर्षक, जानकी र पाथिभारा माताको आशीर्वाद आफूसँग भएपछि पब्लिक बहस बहिस्कार ठुलो कुरा होइन ।
यसको अन्तर्य बालेनको हाइरार्कीसँगै पछिल्लो समय उनले लिएको पार्टीको पक्षधरता हो । उनी आबद्ध पार्टीले न संघीयताको स्पष्ट वकालत गर्छ, न गणतन्त्रको । बरु रास्वपाका शीर्ष नेताहरू नै प्रदेश खारेजीको पक्षमा छन् । तर पनि मधेस पुगेपछि संघीयताको कुन गीत गाउने र पहाड चढेपछि मन्दिरमा शिर झुकाउने ज्ञान उनलाई नेपाली राजनीतिले राम्रैसँग सिकाइसकेको छ ।
यतिबेला झापा– ५ को निर्वाचन ओली कि बालेन, कसले जित्छ भन्ने होइन । पुनः ओली चुनिए भने अनौठो मान्नुपर्ने छैन । राप्रपा जस्तो दक्षिणपन्थीको साथ लिएर भएपनि जित पोल्टामा पार्न सक्छन् उनी । ओली पराजित हुनु भनेको एक किसिमले झापा– ५ ले प्रतिगमन विरुद्ध परिवर्तन चाहन्छ भन्ने तर्क त आउन सक्छ तर साथसाथै बालेनको उदयसगैँ युग पाठकजस्ता वैचारिक साधकलाई नचिन्ने झापा– ५ बाटै नेपाली समाजको राजनीतिक बौद्धिक दरिद्रता पनि प्रमाणित हुनेछ ।
यसर्थ झापा– ५ पुनः चेतनाको कटघरामा उभिएको छ ।
दल नयाँ कि विचार ?
समय परिवर्तनशील छ । यहाँ एक शब्दमा भन्नुपर्दा हामीलाई सबै कुरा नयाँ चाहिन्छ । तर मननीय कुरा के हो भने, जेनजी आन्दोलनपछि जिउँदो जाग्दो एउटा सवाल खडा भएको छ । अब पुराना दल कि नयाँ ? कुनै पनि दलहरू निश्चित सिद्धान्तमा आधारित हुन्छन् । यो दल निर्माणको आधारभूत सर्त हो ।
सन् १७८९ को फ्रान्सेली राज्य क्रान्ति पश्चात् जन्मिएका दुई खेमा, जुन हालसम्म दक्षिणपन्थी र वामपन्थी राजनीतिक विचारधाराको प्रतिनिधित्व गर्छन् । राजनीतिशास्त्र अनुसार परापूर्वकालदेखि राजतन्त्रमा आस्था राख्ने दलहरू बाहेक आफूलाई समयको मागअनुसार परिमार्जन गर्दै लोकतान्त्रिक समाजवादी व्यवस्थामा विश्वास गर्ने सबै दलहरू सङ्गठनात्मक हिसाबले मात्रै नभई विचारले पनि नयाँ हुन् । यसमा कुन दलको कुन मितिमा न्वारान गरियो र हाल कति वर्ष पुरानो भयो भन्ने कुराले अर्थ राख्दैन ।
इतिहासमा नेपाल प्रजा परिषद्, राप्रपा, नेमकिपा, नेपाल लोकतान्त्रिक फोरम, जनमोर्चा लगायतका पार्टी सत्ता साझेदारका वाहक थिए । आजको राजनीतिमा यिनको नामसम्म त छ, तर प्रभाव लगभग शून्य छ । निरङ्कुश राजतन्त्रात्मक समयमा विचारका हिसाबले प्रजातन्त्र नै सबैभन्दा नयाँ विचार थियो ।
गणतन्त्रमा लोकतन्त्र यसको परिमार्जित स्वरूप भएर आयो । युवा पुस्ता आजका आवश्यकता हुन् । तर समाजको उत्पत्ति, राजनीतिक विकासका ऐतिहासिक चरण, आजको वर्तमान राज्य–राष्ट्रको आवश्यकता र अवधारणाबारे सतही समझसम्म नराखी जतिसुकै ‘डिजिटल डेमोक्रेसी’ को रटान गरे पनि अन्ततः समाज धकेलिने उल्टो गतितिरै हो ।
तसर्थ नयाँ स्वरूप तर विचार पुरानै लिएर आए भने ती नामका मात्रै नयाँ हुन् । यतिखेर विश्व चरम पुँजीवादको उत्तराद्र्ध र समाजवादको सुरुआती चरणमा छ । यसर्थ लोकतान्त्रिक समाजवादको वकालत गर्ने सबै दलहरू नयाँ हुन् । अझ नेपालको सन्दर्भमा लोकतन्त्र, संघीयता र धर्म निरपेक्षता जस्ता राजनीतिक आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गर्न जन्मिएका प्रत्येक दल नयाँ हुन ।
यद्यपि साझा एजेन्डा भएका हरेक राजनीतिक दल र सामाजिक सङ्गठनहरू सामूहिक चेतनाले एउटै खेमामा जोडिनु अपरिहार्य छ ।
यहाँनेर प्रश्न उठ्न सक्छ, समाजवादको वकालत काँग्रेसदेखि कम्युनिस्टसम्म सबै दलले गरेकै छन् नि ! उसो भए पुराना कसलाई भन्ने ? जवाफ सरल छ, विचारधाराको हिसाबले दल पुरानो होइन, बरु ती दलहरूभित्रका नेताहरू पुराना हुन सक्छन् । ती दलभित्र तिनै नेताहरूको विकल्प खोज्ने हो, दलको होइन ।
उदाहरणका लागि नेपाली काँग्रेसको विशेष अधिवेशनमा जुन किसिमको रोचक दृश्य देख्न पाइयो, त्यो साहस पुराना भनिएका दलहरूमा आबद्ध गगनहरू जस्ता रूपान्तरण र पुस्तान्तरण चाहने हरेक पुस्ताले गरून् । तत्कालीन परिवेशमा एक नयाँ विचारको महत्त्व बृहत्तर समाजका लागि भन्दा तिनै दल सुदृढीकरणकै लागि आवश्यक छ ।
वास्तवमै हिजोआजका दलहरू नयाँ बन्न चाहन्छन् भने नयाँ विचारसहितको नयाँ सङ्गठन सोही दलभित्रका प्रगतिशील सामूहिक चेतनाले निर्माण गर्नुपर्छ । यहाँ भन्न खोजिएको कुरा के हो भने लोकतान्त्रिक समाजको संवाहक रूपान्तरित विचार नै हो । अन्यथा नयाँ भनिने दलहरूले ‘राजा आऊ, देश बचाउ’ भन्ने विचार बोकेर आए भने ती दलहरूलाई कसरी नयाँ भन्ने ?
त्यसैले दल नयाँ र पुराना भन्ने हुँदैन, बरु त्यसको सट्टामा विचार नयाँ कि पुरानो भन्ने हो । पुरानो भयो भन्दैमा ताज्य र नयाँ भन्दैमा ग्रहणीय हुँदैन । यद्यपि आजको नेपाली समाजमा विद्यमान उपलब्धि, विशेषतः लोकतन्त्र रक्षार्थ जहाँ जो उभिन्छ, त्यहीँ नै राजनीतिमा नयाँ र वैकल्पिक शक्ति हो ।
आजका कथित अग्रगामी दल अनुसार कालक्रमिक ढङ्गबाट हेर्दा मार्क्सवाद पुरानो सिद्धान्त हो । र, आजको पुँजीवादी संसारमा खाँटी कम्युनिस्ट हुनु भनेको असफल प्रयास होला । तर सामाजिक हित प्रवर्तक कुनै पनि विचारको औचित्य त तबसम्म रहन्छ, जबसम्म विद्यमान समाजमा व्याप्त असमानता कायम रहिरहन्छ ।
अन्यथा आधुनिक पुँजीवादको अखडा मानिने न्यूयोर्ककै रङ्गिन सहरमा हुर्केका जोहरान ममदानीको घोषणापत्रमा समाजवादी विचार कसरी अटाउँछ र ?
लोकप्रियताको बजारवादी पुँजीप्रधान समाजमा सङ्गठन र भिड प्रधान हुन सक्छ, तर पुँजी र सामरिक शक्तिकै आडमा असमानता चुलिँदै गएको समाजमा प्रत्येक मानिसमा विद्रोहको हुङ्कार कहीँकतै जिन्दा रहन्छ । र त्यो कहाँ, कसरी र कहिले विस्फोट हुन्छ भन्ने कुरा मात्र फरक हो ।
यो युग नयाँ विचारको युग हो, जहाँ फेरि कुनै पनि विभेद र असमानको कठोर जमिन चिरेर नयाँ विचार जन्मिन सक्छ । त्यसलाई बोक्ने नयाँ दल जन्मिन सक्छ । बस त्यस सामूहिक चेतनालाई राष्ट्रव्यापी रूपमा जोड्ने एक सैद्धान्तिक स्वरूपको जरुरत छ । अर्को कुनै युग पाठकको खाँचो छ ।








