आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ठुला राजनीतिक दलहरुले भावी प्रधानमन्त्री घोषणा गरेर चुनावी मैदानमा होमिएका छन् ।

विगतको संसदमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले विधान अधिवेशनबाट सभापति बनेका गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिसकेको छ ।

अर्को ठुलो दल नेकपा (एमाले)ले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । संसदीय राजनीतिमा दोस्रो पटक चुनावको सामना गरिरहेको राष्ट्रय स्वतन्त्र पार्टीले केही समयअघि मात्र रास्वपा प्रवेश गरेका काठामाडौंका मेयर तथा पार्टीका बरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्री घोषण गरी देश दौडाहा गरिरहेको छ भने धरान उपमहानगरपालिकाको मेयरबाट राजीनामा दिएर संसदीय राजनीतिमा लागेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको पनि भावी प्रधानमन्त्रीमा उस्तै चाह छ ।

यता दर्जनौं दल र समूह मिलेर बनेको नेपाली कम्युनिष्ट पाटी केही नबोलेपनि संयोजक पुष्पकमल दाहाल प्रचण्डले भावी प्रधानमन्त्रीमा आफूलाई उभ्याएका छन् ।

नेपालको संविधान अनुसार प्रधानमन्त्री हुन र मन्त्रीहरु हुनको लागी चुनाव जित्नु पर्ने कानुनी प्रावधान रहेको छ, सोही आधारलाई लिएर पनि चुनाव जित्न र मतदातालाई प्रभाव पार्न नेताहरु भावी प्रधानमनत्री र मन्त्रीको रवाफ दिँदै चुनावी मैदानमा रहेका छन् । २१ फागुन पछि आउने निर्वाचन परिणमका आधारमा को हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

भावी प्रधानमन्त्री त राजनीतिक दलहरुले अघि सारेर चुनावमा जाने विगत देखिकै अभ्यास हो । आफैंलाई आफैं मन्त्री हुन्छु र काम गर्छु भन्दै भोट मागिरहेकाहरु चुनाव जित्छन् र मन्त्री बन्छन् की चुनाव जितेर पनि मन्त्री बन्न सक्दैनन् वा चुनावै नजित्ने हुन् त्यो अहिलेसम्म कसैलाई पत्तो छैन।

केही दिनअघि नेकपा (एमाले)का सचिव तथा भक्तपुर २ का एमाले उम्मेदवार महेश बस्नेतले बागमती प्रदेश स्तरिय कार्यक्रममा सम्बोधन गर्दै चुनाव पछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने र त्यसपछि गृहमन्त्री को बन्छ तपार्इंहरुलाई थाहै होला भन्दै आफू गृहमन्त्री बन्ने संकेत दिए । यति मात्र होइन, आफू गृहमन्त्री बनेपछि बालेन शाह, रवि लामिछाने, जेनजी आन्दोलनको विध्वंस गर्नेलाई कार्वाही गर्ने बताएका थिए । एमालेमा उनी ओलीका विश्वास पात्रका रुपमा चिनिन्छन । झापा ५ वाट उम्मेदवार बनेका अध्यक्ष ओली र बस्नेत दुवै जनाले चुनाव जिते र एमालेको नेतृत्वमा सरकार बने यो सम्भव हुन पनि सक्ला तर दुवैलाई चुनावमा रास्वपाका प्रभावशाली नेताहरुले टक्कर दिएका छन् ।

त्यस्तै, रास्वपाबाट भावी प्रधानमन्त्रीका रुपमा अगाडि सरेका बालेनले ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेर पूर्वहुँदै सुदूरपश्चिम, कर्णालीमा चुनावी अभियान तीव्र पारेका छन् । ओलीलाई टक्कर दिन झापा पुगेका बालेन चुनाव जिते रास्वपाबाट प्रधानमन्त्री बन्नेछन् । उनी प्रधानमन्त्री भए आफू उनको विश्वास पात्र रहेको र विगतमा पनि संगै काम गरेका आधारमा आफू गृहमन्त्री बन्ने दाबी राजु पाण्डेले गरेका छन् । बालेन मेयर रहँदा उनी महानगर प्रहरी प्रमुख रहेका थिए । हाल उनी पनि राजीनामा दिएर काठमाडौं क्षेत्र नम्बर ३ मा रास्वपाबाट उम्मेदवार बनेका छन् । उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ, नेपाली कांग्रेसका रमेश अर्याल र एमालेका रामेश्वर फुँयाललाई पराजित गरेर संसद प्रवेश गर्नु पाण्डेका लागि आफैंमा फलामको चिउरा चपाए सरह हुनेछ ।

पाण्डे जस्तै रास्वपाबाट ओखलढुंगामा उम्मेदवार वनेका नेपाल प्रहरीका पूर्वडिआईजी विश्वराज पोखरेलमा पनि गृहमन्त्रीकै चाह देखिन्छ । केही दिनअघि सञ्चारमाध्यमसँग कुरा गर्दै पोखरेलले आफ्नो योग्यता क्षमता, अनुभवका आधारमा रास्वपा सरकारमा गए आफू गृहमन्त्री बन्ने संकेत गरेका छन् ।