काठमाडौँ । भारत सरकारले बजेटमार्फत सेयर कारोबारमा लाग्ने कर (एसटीटी) बढाउने घोषणा गरेसँगै भारतीय सेयर बजारमा ठुलो गिरावट आएको छ ।

अर्थमन्त्री निर्मला सीतारमणले आगामी वर्षको बजेट भाषणमा धितोपत्र कारोबार कर (एसटीटी) र अप्सन ट्रेडिङमा कर बढाउने घोषणा गरेपछि बजारमा नकारात्मक तरङ्ग फैलिएको हो ।

कर वृद्धिको असर स्वरूप सेन्सेक्स १६०० अङ्कले घटेर ८० हजार ६०० को विन्दुमा झरेको छ। त्यस्तै, निफ्टी ५५० अङ्कले ओरालो लाग्दै २४ हजार ८०० अङ्कले तल आएको छ। सेन्सेक्समा सूचीकृत ३० कम्पनीमध्ये २८ वटाको सेयर मूल्य घटेको छ भने दुईवटामा मात्र सामान्य सुधार देखिएको छ ।

बजार घट्दा सार्वजनिक क्षेत्रका बैंक समूहमा सबैभन्दा बढी ४ प्रतिशतको गिरावट देखिएको छ। यसबाहेक मेटल, एफएमसीजी, आईटी, मिडिया, फार्मा, फाइनान्स र रियल्टी लगायतका सबै क्षेत्रगत सूचकहरू ओरालो लागेका छन् ।

सरकारले डेरिभेटिभ्स (फ्युचर एण्ड अप्सन) बजारलाई निरुत्साहित गर्न करको दायरा बढाएको छ जनाएको छ । यस अनुसार एसटीटी ०.०२५ बाट बढाएर ०.०५ प्रतिशत पुर्‍याइएको छ । अप्सन प्रिमियम कर ०.१ प्रतिशतबाट बढाएर ०.१५ प्रतिशत पुर्‍याइएको छ । अप्सन एक्सरसाइज कर ०.१२५ बाट बढाएर ०.१५ प्रतिशत कायम गरिएको छ ।