काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना लागि यो चुनाव सत्ताको नभएको बताएका छन् । सामाजिक सञ्जालमार्फत् भिडिओ सन्देश दिँदै प्रचण्डले यसलाई प्रमाणित गरेरै छाड्ने जिकिर गरेका छन् ।
आफू पुराना नेताको भिडमा नरहेको प्रष्टीकरण दिँदै दाहालले भनेका छन्, ‘आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन, यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू, जेन-जी छोराछोरीहरूको सपनाको कुरा हो । धेरैलाई लाग्न सक्छ म र म जस्ता पुराना नेताहरू एउटै हुन्, तर म आज यो सार्वजनिक मञ्चबाट प्रस्ट भन्न चाहन्छु, म ती पुराना नेताहरूको भिडमा छैन । म त्यो सत्ताको भागबन्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ । म फरक छु र म यो प्रमाणित गरेरै छाड्नेछु ।’
सन्तान, जीवनसंगिनी र सहयोद्धा गुमाएपछि अब सत्ताको लोभ नरहेको भन्दै उनले आफ्नो निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्ने बताएका छन् ।
‘एउटा मान्छेले आफ्नो जीवनमा जे जे गुमाउन सक्छ, मैले ती सबै गुमाएँ । तर, मलाई अझै पनि के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने, यो संघर्ष मेरो व्यक्तिगत होइन । यो त ती हजारौँ सहिदहरूको सपना पूरा गर्ने यात्रा हो, जसले एउटा सुन्दर र समृद्ध नेपालका लागि आफ्नो रगत बगाए । मलाई थाहा छ मेरो परिवार र मेरा कमरेडहरूको यो बलिदान खेर जानेछैन । परिवर्तन अनिवार्य छ र म यो सुनिश्चित गर्नेछु कि त्यो परिवर्तन भएरै छाड्नेछ ।’
युवाहरूले माग गरेको भ्रष्टाचारको अन्त्य, पारदर्शीता र बलियो सरकार युद्धका दिनदेखि नै आफूले उठाउँदै आएको उनले बताएका छन् । राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्नेमा उनको जोड छ ।
‘यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौँ, भोगेका छौँ । त्यसैले म भन्छु, मेरो माग र तपाईँहरूको माग एउटै हो। म तपाईँहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ ।’
‘या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहु’ उक्ति सम्झिँदै प्रचण्डले भने, ‘यदि म धेरै अघि बिदा भएको भए सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला । तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ । म यो देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन । तपाईँहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, यो तपाईँहरूको स्वतन्त्रता र अधिकारको कुरा हो। तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईँहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ। म हार मान्न तयार छैन किनकि मेरो काम अझै सकिएको छैन ।’
नयाँ पुस्तालाई सधैँ स्वागत गर्ने भन्दै प्रचण्डले हरेक चम्किलो चिज हीरा नहुने बताएका छन् ।
उनको भनाइ छ, ‘आजको यो डिजिटल युगमा सामाजिक सञ्जालका भ्रमहरूले तपाईँहरूलाई बहकाउन सक्छन् । कसैले तपाईँहरूलाई सानो महसुस गराउन नदिनुहोस् । म यहाँ तपाईँहरूसँग भोट माग्न आएको होइन, म त तपाईँहरूलाई स्वतन्त्र चिन्तनको लागि अपिल गर्न आएको हुँ । प्रश्न सोध्न नछोड्नुहोस्, म त्यसको जवाफ दिन तयार छु।’








