राष्ट्रियसभा सदस्यका उम्मेदवारले तीन लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले आइतवार राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको तोकिएको सीमाअनुसार उनीहरूले तीन लाख ५० हजार खर्च गर्न पाउने भएका हुन् ।
मतदान नामावली खरिद, सवारी साधान र इन्धन, प्रचार सामग्री, गोष्ठी अन्तरक्रिया, प्रचारप्रसार कार्यालय सञ्चालनलगायत विषयमा उम्मेदवार तोकिएको रकम खर्च गर्नसक्ने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै जनाएका छन् ।
उम्मेदवारले बैङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट खर्च गर्न पाउने विज्ञप्तिमा उल्लेख छ ।
‘यसरी खर्च गर्दा उम्मेदवारको तर्फवाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी उनको नाम नामसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउन आयोग निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३१ बमोजिम निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेश गर्नसमेत आयोग निर्देश गर्दछ ।’