काठमाडौं । अस्वीकृतको अर्थ सधैँ अब्बलताको कमी हुँदैन । विश्वकप टी–२० १० औँ संस्करणका कान्छा कप्तान दिलप्रित सिंह बाजवाको जीवनमा यो उक्ति चरितार्थ छ ।

घरेलु म्याचहरूमा आफ्ना अब्बल प्रदर्शनकाबीच बाजवालाई पन्जाबले पत्याएन । पन्जाबमा रन्जित ट्रफीमा टिम छनौटका लागि कटोच शिल्ड प्रतियोगिता आयोजना गरिन्छ । सन् २०२० मा उक्त प्रतियोगितामा बाजवाले राम्रो प्रदर्शन गरेका थिए । गुरदासपुरका लागि उनले धेरै पटक अर्धशतक प्रहार गरे । उनको प्रदर्शनले गुरादसपुरको आत्मबल बढाएको थियो । दबाबपूर्ण स्थितिमा उनी स्वयंम पनि विश्वसनीय खेलाडीका रूपमा प्रमाणित हुँदै गए ।

अब्बल प्रदर्शन अवसरको बाटो हुनेभएपनि उनको निम्ति अफसोस हुन पुग्यो । उनी पन्जाबबाट रन्जित ट्रफीका लागि छनोटमा परेनन् । सन् २०२१ को अन्त्यतिर पन्जाब राज्य स्तरीय खेलमा उनले बलियो टोली पटियालाविरूद्ध १३० रन प्रहार गरेका थिए । उनले ५५ बलमा उक्त स्कोर बनाएका थिए । आफ्नो स्कोरका कारणले पन्जाबको अन्डर–१९ मा अवसर दिलाउनेमा उनी ढुक्क थिए ।

उनका साथीहरूले उनलाई भन्थे–जतिसुकै उत्कृष्ट प्रदर्शन गरे पनि तिमी छनोटमा पर्नेछैनौँ । गुरदासपुरप्रति नै छनोटकर्ताहरू विभेदकारी छन् । गुरादसपुरको क्रिकेटिङ संस्कृति र इतिहास गतिलो नभएको उनीहरूको मनोविज्ञानले तिमीलाई असर गर्नेछ । साथीहरूका सन्देशबाट पनि विचलित नभई उनले अब्बल प्रस्तुति जारी राखे यद्यपि पन्जाबको टोलीमा अटाउने उनको सपना साकार हुन सकेन ।

बाजवाका पिता हरप्रित सिंह पनि पूर्व क्रिकेटर थिए । पछि उनी पन्जाबको कृषि विभागमा काम गर्न थाले । पन्जाबले छोरालाई श्रृंखलावद्ध रूपमा गरेको अस्वीकारपछि हरप्रितले दिलप्रितलाई सन् २०२० मा क्यानडा बोलाए । छोरा क्यानडा आएपछि गुरप्रितले आदेश दिए, ”क्रिकेट अलावा अरू केहीमा पनि ध्यान नदिनु ।”

बुवाको आदेशलाई पालना गर्दै दिलप्रित अघि बढे । क्यानडामा उनी मोनट्रेयल टाइगर्स क्लबमा अनुबन्ध भए । त्यहाँबाट उनले ग्लोबल टी–२० लिग खेल्न थाले । ६ वटा टिम सहभागी हुने उक्त लिगमा क्रिस गेल, उसमान खवाजा, डेभिड वार्नर जस्ता दिग्गज खेलाडीहरू समेत थिए ।

उनको ब्याटिङ लयमा रहेको कमजोरीहरू सुधार्न अष्ट्रेलियन क्रिकेटर वार्नरले समेत सहयोग गरेका थिए । ”अष्ट्रेलियन क्रिकेटर वार्नरले मलाई निकै सहयोग गर्नुभयो । मेरो ब्याटिङ शैली सुधारमा उहाँका सुझाव धेरै काम लाग्यो,” दिलप्रित भन्छन् ।

ग्लोबल टी–२० लिगमा उनले ९ खेल खेलेका थिए । ७ इनिङ्समा ९६.३० स्ट्राइक रेटमा उनले १०७ रन जोडेका थिए । उनको तेस्रो खेलमा सर्री जागुवरविरूद्ध उनले ३१ बलमा २८ रन जोडेका थिए ।

बाजवाले आफूलाई मध्यक्रमका भरपर्दा ब्याटरका रूपमा प्रमाणित गर्दै लगे । उनलाई बंगलादेशी क्रिकेट स्टार शाखिफ अल हसनसँग तुलना गर्न थालियो ।

ग्लोबल टी–२० लिगमा शतक प्रहार पर्ने पहिलो क्यानेडेली पनि बाजवा नै बने । उनको प्रदर्शनले उनलाई क्यानडाको राष्ट्रिय टोलीसम्मको यात्रा सुनिश्चित गर्‍यो । क्यानडाले उनलाई सन् २०२३ मा राष्ट्रिय टोलीमा समावेश गर्‍यो ।

अमेरिकामा भएको टी–२० क्वालिफायर खेलमा उनले क्यानडाको राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । सन् २०२४ फेब्रुअरीमा उनले क्यानडाबाट एकदिवसीय अन्तराष्ट्रिय टोलीमा पनि डेब्यूको अवसर पाए ।

एकदिवसीय अन्तर्राष्ट्रियतर्फ नौ म्याच खेलेका उनले आठ इनिङ्समा १०९ रन जोडेका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा १७ म्याच खेलेका उनले १७ इनिङ्समा ३०७ रन बनाएका छन् ।

विस्फोटक र भरपर्दा ब्याटरको छवि बनाएका बाजवा युवा क्रिकेटरलाई भन्छन्,’’अस्वीकार जीवनको एक पाटो हो । त्यसबाट आत्मबल कमजोर बनाउनुहुँदैन । अब्बल प्रदर्शनलाई निरन्तरता दिए अवसरका धेरै ढोका खुल्नेछन् ।’’