मुम्बइ (भारत) । दुईवर्ष अगाडि टी–२० विश्वकपमा जब नेपाली क्रिकेट टोली दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको थियो, त्यतिबेला विश्लेषकहरूले भनेका थिए- “टेस्ट राष्ट्र र एसोसियट राष्ट्रबीचको भिन्नता भनेको यही नै हो ।”
आइतबार इंग्ल्यान्डसँग ४ रनको हारसँगै त्यस्तै इतिहास पुनरावृत्ति भएपछि फेरि प्रश्न उठेको छ –’भिन्नता के?’
प्रश्नको केन्द्रमा नेपाली क्रिकेट छ । सामान्यतः ६ बलमा १० रन बनाउनु टेस्ट राष्ट्रका खेलाडीका लागि ठुलो विषय मानिँदैन ।
तर यो त्यति सहज विषय होइन, जति ठानिन्छ । यसभित्र खेलाडीको प्रविधि क्षमता, उनीहरूको अनुभव, दबाब झेल्न सक्ने क्षमता र बलियो मानसिकताजस्ता विषयहरूको ठूलो भूमिका रहने गर्छ ।
यी नै विषयमा नेपाली क्रिकेट फेरि एकपटक चुक्न पुग्यो । नत्र इंग्ल्यान्डविरुद्धको खेलमा नेपाली टोलीको प्रशंसा गर्नुबाहेक अरू कुनै ठाउँ थिएन । उनीहरूले लोभलाग्दो खेल प्रस्तुत गरे । कुशल भुर्तेलले जोफ्रा आर्चरजस्ता खेलाडीलाई एकै ओभरमा ३ चौका प्रहार गरिदिए ।
रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीले ८२ रनको शानदार पारी खेलेर खेललाई विजयतिर डोर्याउने प्रयास गरे । लोकेश बमले त धूम नै मच्चाइदिए । व्यक्तिगत स्किल मात्र होइन, उनीहरूले त्यस्तो रणनीतिक खेल पस्किए, जुन इंग्ल्यान्डले पस्केको १८४ रनको लक्ष्यलाई आरामसँग पार गर्ने खालको थियो ।
एक हिसाबले भन्ने हो भने यस्तो खेल प्रदर्शन गरेको थियो । जुन विश्वकप जस्तो ठुलो क्रिकेट मञ्चमा तारिफयोग्य थियो । त्यसै कारण हो अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीदेखि विश्वका सबै दिग्गज खेलाडी अधिकारीहरूले नेपालको प्रदर्शनको मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।
तर अहिले विषय प्रशंसाको होइन, प्रगतिको हो । अङ्कको हो ।
दुई पटकको विश्व च्याम्पियन इंग्ल्यान्डविरुद्ध जितको छायासम्ममा पुगेर नेपालले बहादुरी देखाएकै हो । क्रिकेट विश्वलाई आफूतिर पुन: आकर्षित गरेकै हो । र, नेपाल एसोसियटको बलियो राष्ट्र हो भन्ने छविलाई पुष्टि गरेकै हो ।तथापि वास्तविकता यो पनि हो कि अन्ततः नेपालको हातमा शून्य अङ्कमात्र छ ।
विश्लेषकहरू भन्छन्, “टेस्ट राष्ट्रका खेलाडीहरू जित्न जान्छन् । भिन्नता भनेको यही नै हो ।”
अनुमान गरौँ यही स्थितिमा यदि नेपालले बलिङ गरिरहेको होस् र इंग्ल्यान्डले ब्याटिङ गरिरहेको भए सहजै १० रन जोड्न सक्थ्यो।
एसोसियटको चुनौती
२० राष्ट्र सहभागी रहेको जारी टी-२० विश्वकपमा ९ एसोसियट राष्ट्र छन् । यिनीहरूले विगतको विश्वकपमा पनि केही अप्रत्याशित नतिजा त निकालेका छन् । तर त्यो कुनै एकाध खेलमा सीमित हुने गरेको छ, ठुलो धक्का दिन सकेको देखिएको छैन ।
यसपालि विश्वकप सुरु भएको २ दिनमा नै तीनवटा एसोसियट राष्ट्रले प्रभाव देखाइसकेको छ । अमेरिकाले भारतसँग र नेदरल्यान्ड्सले पाकिस्तानविरुद्धको खेलमा एक समय टेस्ट विपक्षीलाई दबाबमा पारेको थियो । त्यसो भए के एसोसियट र टेस्ट टोली बराबर हुन थालेको हो ?
यही प्रश्न इंग्ल्यान्डका खेलाडी विल ज्याक्सलाई खेलपछिको पत्रकार सम्मेलनमा सोधिएको थियो ।
ज्याक्सले कम्तीमा छोटो फर्म्याटको क्रिकेटमा बराबरको अवस्थामा आइसकेको स्वीकार गरे । उनले भने, “ हो, सेतो बलको क्रिकेटमा यो दुरी निकै साँघुरिइसकेको छ ।”
यद्यपि साँघुरिइरहेको यो खाडलको दूरी यति छ कि यसले अधिकांश समय एसोसियट राष्ट्रलाई जितबाट रोकिरहेको छ ।
५० ओभरको खेल र त्यो भन्दा माथि टेस्ट खेलबाट यी राष्ट्रका खेलाडीहरू यति खारिइसकेका हुन्छन् कि उनीहरू खेलको हरेक कठिन परिस्थितिलाई आरामसँग नियन्त्रण गर्न सक्छन् ।
अन्तिम ओभरमा बलिङ गर्न आएका शाम करन कति दबाबमा थिए होला त्यो अनुमान गर्न सकिन्थ्यो ।
तर उनले आफ्ना कप्तान ह्यारिस ब्रुकलाई विश्वस्त पार्दै भनेका थिए, “म ६ वटा योर्कर फ्याल्दै छु ।” उनले फ्यालेर पनि देखाए ।
विषय जति गहन भए पनि जवाफ भने उतिकै सहज पनि छ । नेपालले अब इन्टेन्स क्रिकेट खेल्न जरुरी छ । नेपाली खेलाडीहरू सक्षम छन् भन्ने कुरामा द्विविधा रहेन ।
तर नेपालले ठुला देशहरूसँग कति पटक खेल्ने मौका पाउँछ त ? २०२४ मा दक्षिण अफ्रिकासँग १ रनले हारेपछि नेपालले २ वर्षको बीचमा त्यस्तै स्तरको टोलीसँग कतिपटक क्रिकेट खेल्ने मौका पायो त ?
हेक्का राख्नुपर्ने कुरा के हो भने अन्तर्राष्ट्रिय क्रिकेट यात्रा सुरु गरेको तीन दशकपछि नेपालले बल्ल पहिलोपटक इंग्ल्यान्डसँग खेल्ने मौका पाएको हो ।
एसोसियट राष्ट्रको हैसियतले नेपालले ठुला टोली भेट्न विश्वकप नै पर्खिनुपर्ने अवस्था छ । तर अहिले कीर्तिपुर रंगशाला अन्तर्राष्ट्रियस्वरुप लिइसकेकोले यस्ता मौकाहरु बनिरहने आशा गरौँ । नेपाल क्रिकेट संघले यो कुरा राम्ररी बुझेको पनि छ ।








