काठमाडौँ । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन तीव्र पारेको छ ।

विभागका एक बजार निरीक्षण अधिकृतका अनुसार बजारमा ग्यासको अभाव हुनुमा बुलेट ढुवानीमा देखिएको प्राविधिक समस्या र उपभोक्तामा छाएको प्यानिक बाइङ (मनोवैज्ञानिक त्रास) मुख्य कारण रहेका छन् ।

ती अधिकृतले पछिल्ला केही दिनयता विभागले ग्यास उद्योग, डिपो र वितरकहरूको अनुगमन गर्दा व्यवसायीले ग्यास लुकाएको नपाइएको बताएका छन् । ‘हामीले १०–१२ ठाउँमा अनुगमन गर्‍यौँ, कहीँ पनि ग्यास लुकाएको अवस्था भेटिएन । दैनिक रूपमा २ हजार देखि २५ सय सिलिन्डर बजारमा आइरहेको छ, तर आउने बित्तिकै १५ मिनेटमै सकिने गरेको छ,’ उनले भने ।

उनका अनुसार ग्यास अभाव हुनुका पछाडि बुलेट ढुवानीमा समस्या र उपभोक्ताले अत्यधिक मात्रामा ग्यास सञ्चय गर्नु रहेको छ । इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमबिचको सम्झौता अनुसार ढुवानीको जिम्मा भारतीय पक्षको हुन्छ ।

हाल ढुवानी कर्ताको टेन्डर परिवर्तनको संक्रमणकालीन चरण लिइरहेकोले बुलेट ढुवानीमा केही कमी आएको थियो । दैनिक करिब १५ देखि २० प्रतिशत आपूर्तिमा कमी देखिएको थियो । तर अब भने आपूर्ति सहज भइसकेको छ ।

साथै ग्यास अभाव हुने हल्ला चलेपछि उपभोक्ताहरू त्रसित भएर आवश्यकता भन्दा बढी ग्यास सञ्चय गर्न थालेका छन् । पहिला एउटा सिलिन्डर हुँदा ढुक्क हुने उपभोक्ताले अहिले हल्लाको भरमा ५ वटा सिलिन्डर खाली छन् भने पाँचै वटा भरेर राख्न थालेका कारण पनि बजारमा माग बढेकाले समस्या पुगेको छ ।

जसले गर्दा सामान्य अवस्थामा एक हप्तामा बिक्री हुने ग्यास अहिले १५ मिनेटमै सकिने गरेको छ ।

उनले बुलेटको समस्या सामान्य प्राविधिक विषय भएकोले ५ देखि १० दिनभित्र समाधान हुने बताएका छन् । उनले अहिलेको अभाव हल्लामा आधारित भएको र उपभोक्ताले अनावश्यक सञ्चय गर्दा वास्तविक पीडितले ग्यास नपाउने अवस्था सिर्जना भएको बताए ।

साथै, अहिले सबैले घरमा ग्यास थुपारेका कारण आगामी १/२ महिनापछि ग्यासको बिक्री ठप्प हुने उनको दाबी छ ।