काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौँ आइपुगेका छन् । कैलाश हेलिकप्टरमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् । राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडी उनको स्वागतमा मानिस भेला गरेका छन् ।
यसअघि उनी बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने भनिएको थियो । तर, मौसमको कारण जहाज डिले हुने भएपछि शाहले हेलिकप्टरमा आउने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
विमानस्थल बाहिर पूर्वराजाका समर्थकहरूले स्वागतको तयारी गरेका छन् । प्रदर्शनको क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गरेर प्रहरीले उच्च सुरक्षा सर्तकर्ता अपनाएको छ ।







