काठमाडौँ । इरानको राजधानी तेहरान लगायत देशभर विशाल सरकार विरोधी प्रदर्शनहरू भइरहेका छन् । देशमा व्याप्त आर्थिक संकटका कारण सुरु भएको आन्दोलनले अहिले १२ दिन पार गरिसकेको छ ।
इन्टरनेट अनुगमन गर्ने संस्था नेटब्लक्सले इरानभर नै इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको जानकारी दिएको छ । इरानका पूर्व शाहका निर्वासित छोरा रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गरेका थिए ।
विभिन्न भिडिओमा सहरहरूमा प्रदर्शनकारीहरूको ठुलो भीड देखिए पनि इरानको सरकारी सञ्चारमाध्यमले भने यी प्रदर्शनहरूलाई कम महत्व दिएका छन् । पछिल्ला केही दिनहरूमा प्रदर्शनकारी र सुरक्षा बलबिच हिंसात्मक झडपहरू भएका छन् । बीबीसीका अनुसार सरकारले गरेको दमनमा ६ जनाको मृत्यु भएको छ भने एक प्रहरी अधिकारीको पनि ज्यान गएको छ । यो विरोध प्रदर्शन अहिले विश्वविद्यालयहरूमा समेत फैलिएको छ ।
यसैबिच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि सरकारी सुरक्षा बलले प्रदर्शनकारीहरूको हत्या गरेमा इरानमाथि ‘निकै कडा’ प्रहार गर्ने चेतावनी फेरि दोहोर्याएका छन् । इजरायली गुप्तचर निकायको विश्लेषण अनुसार इरान अहिले आफ्नो सबैभन्दा अस्थिर मोडमा रहेको छ र केही उच्च इरानी अधिकारीहरूले समेत शासन जोगाउन चुनौतीपूर्ण स्थिति रहेको स्वीकार गरेका छन् ।








