अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा. गोपाल भट्ट अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापनाको सम्भाव्यता अध्ययनका लागि युरोपबाट २० फेब्रुअरीमा नेपाल आउने भएका छन् । उनको भ्रमणले नेपालमा अन्तरिक्ष विज्ञान र अनुसन्धानको क्षेत्रमा नयाँ बहस तथा अन्तर्राष्ट्रिय सहकार्यको ढोका खोल्ने अपेक्षा गरिएको छ ।

डा. भट्ट को हुन् ?

डा। भट्ट अन्तर्राष्ट्रियस्तरमा परिचित खगोल भौतिकशास्त्री हुन् । उनले युरोपका विभिन्न अनुसन्धान संस्थासँग आबद्ध भई ग्रह नक्षेत्र अध्ययन, गहिरो अन्तरिक्ष अवलोकन तथा आधुनिक टेलिस्कोप प्रविधिमा अनुसन्धान गर्दै आएका छन् ।

उनका अनुसन्धान कार्यहरू विभिन्न अन्तर्राष्ट्रिय जर्नल तथा सम्मेलनहरूमा प्रस्तुत र प्रकाशित भएका छन् । साथै, विकासोन्मुख राष्ट्रहरूमा अन्तरिक्ष अनुसन्धान विस्तार गर्ने अभियानमा उनी सक्रिय रूपमा संलग्न रहँदै आएका छन् ।

नेपाल भ्रमणका प्रमुख कार्यक्रम

भ्रमणका क्रममा डा. भट्टले विभिन्न शैक्षिक तथा वैज्ञानिक कार्यक्रममा सहभागिता जनाएका साथै ‘नेपाल पनि अन्तरिक्ष युगतर्फ’ विषयमा विशेष प्रवचन दिने कार्यक्रम तय भएको छ ।

उनको सहभागितामा मुख्य कार्यक्रम शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र पोलिस विश्वविद्यालयको सहकार्यमा नेपालमा टेलिस्कोप जडान गर्ने योजनामा केन्द्रित रहने जनाइएको छ ।

कार्यक्रमको समन्वय बीपी मेमोरियल अब्जर्भेटरीका कार्यकारी निर्देशक डा‍‍‍‍‍‍‍‍‍. नत शर्माले गर्ने जानकारी प्राप्त भएको छ ।

विशेषज्ञहरूका अनुसार यस पहलले नेपालमा वैज्ञानिक पूर्वाधार विकास, प्राविधिक दक्षता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । त्यस्तै, विद्यालय तथा विश्वविद्यालय स्तरमा खगोल विज्ञान अध्ययन विस्तार, आधुनिक टेलिस्कोपमार्फत अनुसन्धानको सुरुवात, ‘एस्ट्रो–टुरिज्म’ प्रवर्द्धनको सम्भावना, मौसम पूर्वानुमान तथा विपद् व्यवस्थापनमा अन्तरिक्ष प्रविधिको उपयोगजस्ता कुरामा फाइदा हुनेछ ।