काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका-३, नवराजपुरमा बा.प्र ०१-०२५ च २८०२ नम्बरको गाडी र मधेस प्रदेश-०२-००७ प ८७३४ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-३ पचाइन बस्ने ७० वर्षीय रामबिलास महतोको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको रामा हस्पिटल मुजेलीया जनकपुरमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, चितवनको कालिका नगरपालिका-७ मा बा.प्र.०३-००१ स ०४६९ नम्बरको अटोले बा.प्र.०६-००३ प ८०१३ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक भरतपुर महानगरपालिका-१२ बस्ने ३८ वर्षीय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनकै भरतपुर महानगरपालिका-७ मा बा.प्र-०६-००१ प ४३३७ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा चालक सोही महानगरपालिका-५ नारायणपुर बस्ने ३३ वर्षीय शम्भु पोख्रेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-८, बसडिलवा क्षितिजपथस्थित सडकमा लु.प्र ०१-००४ प ४६३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-१३ बिन्दवासिनीपथ बस्ने २६ वर्षीय अमन धवलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका-५, सखुवानी चोकस्थित सडकमा ना.१६ प ४०४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६२ वर्षीय अर्जुन बहादुर थारूको मृत्यु भएको छ । सोमबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनानकारी दिइएको छ ।