काठमाडौं । टी–२० विश्वकप अन्तर्गत ३५औँ खेलमा आज पाकिस्तान र नामिबियाबीच भिडन्त हुँदैछ।
खेल कोलम्बोस्थित सिन्हालेस स्पोर्ट्स क्लबमा दिउँसो सवा ३ बजेबाट सुरु हुनेछ।
पाकिस्तानका लागि यस खेल ‘गर या मर’ को खेल रहेको छ। यदि नामिबियाले जित हासिल गर्यो भने पाकिस्तान प्रतियोगिताबाट बाहिरिनेछ र अमेरिका सुपर–८ मा प्रवेश गर्नेछ।
पाकिस्तानले खेल जितेमा सुपर–८ मा स्थान सुरक्षित गर्नेछ।
टी–२० विश्वकपमा पाकिस्तानले २ जित र १ हार बेहोरेको छ। उसले नेदरल्यान्ड्स र अमेरिकालाई हराउँदा भारतसँग भने पराजित हुन पुग्यो।
नामिबिया भने आफ्ना तीनै खेल (नेदरल्यान्ड्स, भारत र अमेरिकासँग पराजित हुँदै अंकविहिन रहेको छ ।
पाकिस्तानका लागि साहिबजादा फरहानले विश्वकपमा १२० रन बनाएका छन्। उनको उत्कृष्ट स्कोर ७३ रन रहेको छ। बलिङतर्फ सइम अयूबले ५ विकेट लिँदै टोलिका लागि सर्वाधिक विकेट लिएका छन्।
नामिबियाका लोरेन स्टीनक्याम्पले सबैभन्दा धेरै रन बनाएका छन्।
उनले ३ खेलमा ९३ रन बनाएका छन्। तीव्र गतिका बलर जेरार्ड इरास्मसले ६ विकेट लिएका छन्।








