नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सिंगो देश विकास गर्ने जिम्मा आफ्नो भएको बताउँदै ढुक्क रहन आग्रह गरेका छन्।

सोमबार झापामा नेशनल भोलेन्टियर्स फोर्स कोशी कमान्ड घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश विकास गर्ने जिम्मा आफ्नो भएको जिकिर गरेका हुन्। झापा-५ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका ओलीले भने, ‘यहाँको विकासको जिम्मा मेरो हो। यस जिल्लाको विकासको जिम्माको मेरो हो। यस प्रदेशको विकासको जिम्मा मेरो हो। सिंगै देशको विकासको जिम्मा मेरो हो। तपाईहरू ढुक्क हुनुहोस्।’

देश बनाउने पार्टी एमालेले भएकाले अलमलमा पर्न नहुने उनको भनाइ थियो। विगतमा पनि आफूले सरकारको नेतृत्व गर्दा विकास निर्माणका काम गरेको उनले सुनाए। ‘आगो लगाउन, लुटपाट गर्नु र विकास गर्नु फरक कुरा हो,’ ओलीले भने, ‘एमाले देश बनाउने पार्टी हो, देश बनाउँछ।’

उनले एमालेको पहिलो प्राथमिकता देश भएको बताए। एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताउँदै ओलीले भने, ‘एमाले भन्छ- अरू सबै कुरा पछि, देश पहिले।’

नेशनल भोलेन्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताए। ‘राज्य संयन्त्रको भर मात्रै पर्याप्त नहुने रहेछ भन्ने सिकाइबाट देश जोगाउन यो फोर्स गठन गरिएको हो,’ उनले भने।

आन्दोलनको नाममा अराजकता फैलिएको उनको भनाइ थियो। अब यस्तो अवस्था दोहोरिन नदिने दाबी गर्दै ओलीले भने, ‘अब नेशनल भोलेन्टिर्स फोर्स बनेको छ, कसैले देश जलाउन सक्दैन, प्रहरीका हतियार खोस्न सक्दैन।’

उनले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ रहेको बताउँदै मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनुपर्नेमा जोड दिए। ‘कसैले बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ, यहाँ नेसनल भोलेन्टियर्स फोर्स छ,’उनले भने, ‘यो जनताको शक्ति हो र अनुशासनमा बसेर काम गर्छ।