विराटनगर : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले ३९ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । घिमिरे मोरङको निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार हुन् । विराटनगरमा सोमबार राति पत्रकार सम्मेलन गरेर घिमिरेले शिक्षा,स्वास्थ्य, कृषि, खेलकुद, पूर्वाधार, धार्मिक पर्यटन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै आफ्नो विस्तृत योजना प्रस्तुत गरे । ग्रामथान गाउँपालिका–६ का बासिन्दा घिमिरेले मतदातासँगको संवादमा आफू दीर्घकालीन दृष्टिकोण र स्पष्ट कार्यदिशासहित अघि बढिरहेको दाबी गरे ।

उनले २०७२ सालमा संविधान जारी गर्ने ऐतिहासिक प्रक्रियामा पार्टी नेतृत्वमा सक्रिय भूमिका खेलेको स्मरण गर्दै,समयानुकूल नीतिगत सुधार र विकासमुखी कार्यक्रममार्फत क्षेत्रलाई समृद्ध बनाउने प्रतिबद्धता जनाएका छन् ।

उनको योजना अनुसार विराटनगर–१९ को गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई केन्द्र बनाएर क्षेत्रलाई खेलकुद ग्रामको रूपमा विकास गरिनेछ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता सञ्चालन गर्न योग्य पूर्वाधार,खेलाडी प्रशिक्षण केन्द्र र बहुउद्देश्यीय खेलमैदान निर्माण गरी मोरङ–४ लाई खेलकुदको प्रमुख केन्द्र बनाउने लक्ष्य उनको छ ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने विराटनगर महानगरपालिका, बेलबारी नगरपालिका, कटहरी र ग्रामथान गाउँपालिकाका विद्यालयहरूमा अंग्रेजी माध्यमको पठनपाठन विस्तार, डिजिटल शिक्षण सामग्री र विद्युतीय पुस्तकालयमार्फत गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्ने योजना प्रस्तुत घिमिरेले प्रस्तुत गरेका छन् । कृषि सुधारका लागि मोरङ–सुनसरी सिँचाइ आयोजनाअन्तर्गत मूल नहरको मार्गमा आवश्यक स्थानमा पक्की पुल निर्माण र सिँचाइ सुविधा नपुगेका क्षेत्रमा आधुनिक खेती प्रणाली प्रवर्द्धन गरिने योजना समावेश छ ।

कृषकलाई रासायनिक मल,उन्नत बीउ र उत्पादन बजारसम्म सहज पहुँच उपलब्ध गराउने प्रतिबद्धता पनि उनले व्यक्त गरे । पूर्वाधार विकासमा कटहरी गाउँपालिकास्थित लोहन्द्रा खोलामा पक्की पुल र तटबन्ध निर्माण,बाढी जोखिम न्यूनीकरण,भूमिहीन नागरिकको आवास समस्या समाधान र दीर्घकालीन संरचना निर्माणलाई उच्च प्राथमिकता दिइएको छ ।

सांस्कृतिक र धार्मिक पर्यटन प्रवद्र्धनका लागि ग्रामथान–५ को थारु सांस्कृतिक पहिचान संरक्षण,संग्रहालय स्थापना र बेलबारी–५ का धनपालगढी तथा कटहरी थालाहामा बाबा बनस्खण्डी मन्दिर क्षेत्रलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य तय गरिएको छ । यसले स्थानीय रोजगारी र आर्थिक गतिविधि विस्तारमा मद्दत गर्ने घिमिरेको अपेक्षा छ ।

स्वास्थ्य सेवामा बेलबारी–७ को प्राथमिक स्वास्थ्य केन्द्रलाई थप व्यवस्थित गर्दै विशेषज्ञ चिकित्सक व्यवस्था, गुणस्तरीय स्वास्थ्य सेवा र बिरामीको बाहिर जानुपर्ने बाध्यता कम गर्ने योजना पनि उनले सार्वजनिक गरे । मोरङ–४ मा हाल १ लाख १९ हजार २५५ मतदाता छन् । घिमिरेले आफ्नो प्रतिबद्धता पत्र घोषणात्मक नभई कार्यान्वयनयोग्य योजना भएको दाबी गर्दै आफ्नो क्षेत्रलाई शिक्षा, कृषि, खेलकुद र पर्यटनको सन्तुलित विकास मोडेल बनाउने लक्ष्य दोहो¥याएका छन् ।

चुनावी प्रतिस्पर्धा तीव्र बन्दै गरेको अवस्थामा कांग्रेस महामन्त्री घिमिरेले सार्वजनिक गरेर ३९ बुँदे प्रतिबद्धता पत्रमा समेटिएका योजनाले पूर्वाधार विस्तार, सामाजिक समावेशिता र आर्थिक सशक्तीकरणलाई प्राथमिकतामा राखेको छ ।