झापा। झापा क्षेत्र नम्बर ३ का तीन मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन्।
भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशालामा रहेको तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको छ। मतदान अधिकृतदेखि कर्मचारी र प्रहरीसम्म महिलालाई तोकिएको सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी जानकारी दिए।
‘क’ केन्द्रको बुथमा मतदान अधिकृतको रूपमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती र सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे रहेका छन्। ‘ख’ केन्द्रको बुथमा मतदान अधिकृत विशेष नापी कार्यालय दमककी सृजना पन्त र सहायक मतदान अधिकृतमा जुनु पोखरेल छन्। ‘ग’ केन्द्रको बुथमा भद्रपुर नगरपालिकाकी गोमा दाहाल र सहायकमा प्रतिमा राई कार्यरत छन्।
जिल्ला निर्वाचन कार्यालयले पाँच वटै निर्वाचन क्षेत्रका मतदान अधिकृतलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिरहेको छ। झापामा ७,१३,५३७ मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल छन्। ८१५ मतदान अधिकृतसहित ४,९३६ कर्मचारी खटाइएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।







