काठमाडौंः संघीय राजधानी उपत्यकाअर्तगत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरुका तर्फबाट विकासको मार्ग चित्र भिजन-१० साझा प्रतिबद्धता आज सार्वजनिक हुँदैछ । दिउँसो आयोजना गरिने कार्यक्रममा उम्मेदवारहरुको उपस्थितीमा प्रतिबद्धता सार्वजनिक गरिने महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो ।
काठमाडौं-५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनुभएका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी पाँच वर्षमा गरिने साझा कामको खाका तयार पार्दै सार्वजनिकीकरण गराउने पहल गर्नुभएको थियो ।
महामन्त्री पौडेलले संघीय राजधानीको यातायात, पूर्वाधारसहितका मुद्दाहरुमा उम्मेदवारहरुबीच परामर्शपश्चात खाका तयार पारिएको र आज सार्वजनिक गर्ने जानकारी दिनुभयो ।समग्र उपत्यकाको विकासको मार्गचित्र हाम्रो प्राथमिकतामा छ । एक्ला-एक्लैभन्दा साझा रुपमा मुद्दा उठाउन सहज हुने भएकाले साझा प्रतिबद्धता सार्वजनिक गर्न लागेका हों, उहाँले बताउनुभयो ।
कार्यक्रममा तीनवटै जिल्लाका नेपाली कांग्रेस उम्मेदवारहरु उपस्थित हुने नेपाली कांग्रेस काठमाडौंका सचिव सुशन वैद्यले जानकारी दिनुभयो ।







