प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा जानकी गाउँपालिकामा आयोजित चुनावी आमसभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो दलको रणनीति र प्राथमिकताबारे विस्तृतरूपमा बोलेका छन् ।
उनले अघिल्लो समय सरकारको गति र मति ठीक नभएको भन्दै पछिल्ला समयको क्षतिको माग पूरा गर्न तिव्र गतिमा काम गर्नुपर्ने आवश्यकता औंल्याए ।
सभापति थापाले भने, ‘यो पाँच वर्षमा रोजगारी सिर्जना, लगानीमैत्री वातावरण निर्माण र थन्किएका पूर्वाधार छोटो समयमा सम्पन्न गर्न असामान्यरूपमा काम गर्नुपर्छ ।’
उनले संविधान निर्माणमा शुसिल कोइरालाले बनाएको मार्गदर्शनलाई उदाहरण दिँदै भने, ‘संविधानको राजमार्गमा कही कतै नरोकी सबैलाई लिएर गाडी बेजोड तरिकाले दौडाउँछौं । गतिमा दौडिन्छ तर दुर्घटना हुँदैन । जोखिम लिन र स्पीड कायम राख्न अनुभव आवश्यक छ, र त्यो अनुभव हामीसँग छ ।’
थापाले ०४६ यताका सबैको सम्पत्तिको छानबिन आवश्यक रहेको उल्लेख गर्दै भने, ‘आफ्नै घरको सदस्य भए पनि कसैले छुटकारा पाउने छैन ।’ संविधानमा उल्लेखित विषयहरू पूर्णरूपमा कार्यान्वयन गर्ने र स्वास्थ्य बीमा कार्यक्रमलाई पुनः व्यवस्थित गर्ने प्रतिज्ञासमेत गरे । उनले कांग्रेसले संकल्पसहित अघि बढेको भन्दै पार्टीको कमजोरीलाई सफा गर्ने र राम्रो कामको जिम्मा लिन तत्पर रहेको बताए ।
‘सरकार बनेपछि मासिकरूपमा कार्य प्रस्तुत गर्नेछौं र महिनाको अन्त्यमा उपलब्धि सार्वजनिक गरिनेछ,’ उनले आश्वस्त पारे ।
सभापति थापाले नयाँ युगको राजनीतिमा कांग्रेसलाई प्रवेश गराउने योजना प्रस्तुत गर्दै, ‘धैर्यता, सुझबुझ, विवेक र चेतना कांग्रेससँग छ । सबैको अधिकारको विषयमा सबैलाई साथमा लिएर काम गरिनेछ,’ भने । उनले पार्टीभित्र सामान्य मनमुटाव भए पनि त्यसबीचमा सँगसँगै अघि बढ्ने पनि बताए ।
उनले आगामी पाँच वर्षलाई ‘सुशासनको वर्ष’ बनाउने प्रतिबद्धता व्यक्त गर्दै भने, ‘यो समय घृणा वा प्रतिशोधको होइन, विकास, सहकार्य र समुन्नतको वर्ष हुनेछ ।’ कांग्रेसले जनताको आवश्यकता, पूर्वाधार निर्माण, रोजगारी सिर्जना र सामाजिक सुरक्षामा विशेष ध्यान दिने उनको भनाइ छ । थापाको सम्बोधनले जनतामा आगामी निर्वाचन र विकासमुखी कार्ययोजनाप्रति उत्साह र अपेक्षा जगाएको छ । उनले आफ्नो योजनाहरूमा पारदर्शिता, जिम्मेवारी र गति कायम राख्ने वचन दिँदै, स्थानीय निर्वाचन क्षेत्रका सबै तहमा जनसरोकार र सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्याए ।








