काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी ५ वर्षलाई नेपालको इतिहासकै ‘स्वर्णिम काल’ बनाउने संकल्प व्यक्त गरेका छन् ।
बिहीबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेसले अबको ५ वर्षमा देशको अवस्था बदल्ने र मुलुकलाई कुनै पनि प्रकारको राजनीतिक वा सामाजिक दुर्घटनामा पर्न नदिने प्रतिबद्धता जनाए । मधेसदेखि कर्णालीसम्मको यात्रा गर्दै चुनावी अभियानमा होमिएका थापाले आसन्न निर्वाचन संविधानलाई सही बाटो (ट्रयाक) मा राख्नका लागि अनिवार्य शर्त भएको बताए ।
संविधानको रक्षा र राजनीतिक स्थिरता
सभापति थापाले वर्तमान निर्वाचन संविधान रक्षाको कडी भएको बताए । विगतका केही अप्रिय घटनाहरू (भाद्र २३ र २४) लाई स्मरण गर्दै उनले देशमा अब सरकारको गोलीबाट कुनै पनि नागरिकको ज्यान जान नहुने र कसैले पनि मुखुण्डो लगाएर सिंहदरबार जलाउन नपाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘यो निर्वाचन तिनै अतिवादी दृष्टिकोणहरू बीचको लडाईं हो । काँग्रेसले संविधानलाई ट्रयाकमा ल्याउने काममा एक इन्च पनि सम्झौता गर्दैन ।’
२०८२ देखि ८७ सम्म ‘स्वर्णिम काल’
सभापति थापाले वि.सं. २०८२ देखि २०८७ सम्मको ५ वर्षलाई नेपालको विकासको सबैभन्दा सफल अवधि बनाउने योजना अघि सारे । उनले काँग्रेसको नेतृत्वमा बन्ने सरकारले नागरिकका आधारभुत आवश्यकतालाई प्राथमिकता दिने बताए । कुनै पनि नागरिकले उपचारका लागि खल्तीबाट पैसा तिर्नु नपर्ने र अभिभावकले सन्तानको शिक्षाको बिल तिर्नु नपर्ने अवस्था बनाउने उनको भनाइ छ ।
पढेका युवाहरूले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने, सरकारले हरेक महिनाको पहिलो दिन जनताका सामु उभिएर आफूले गरेका कामको विवरण दिने र आगामी महिनाको लक्ष्य सार्वजनिक गर्ने बताए ।
सुशासनको प्रतिबद्धता
सभापति थापाले २०४६ साल यताका सबै चर्चित भ्रष्टाचार प्रकरणहरूको छानबिन गर्ने घोषणा गरे । उनले भने, ‘काँग्रेसको सरकारले ५ वर्ष काम गर्दा एउटा पनि काण्ड भयो भनेर नागरिकले सुन्नु पर्दैन । यदि कुनै काण्डमा मेरै परिवारको सदस्य संलग्न छ भने पनि ऊ बच्ने छैन ।’
उनले राजनीतिमा देखिएको ‘गठबन्धनको फोहोर’ लाई सफा गरेर कांग्रेसले नयाँ ढंगले देश सम्हाल्ने दाबी गरे ।
कर्णालीको विकासका लागि ‘ढाँचा’ बदल्नुपर्ने
कर्णाली प्रदेशको विशिष्ट भौगोलिक र आर्थिक अवस्थालाई औँल्याउँदै थापाले काठमाडौं र कर्णालीको विकासको ढाँचा एउटै हुन नसक्ने बताए । कर्णालीको ४० प्रतिशत गरिबी र बेरोजगारी हटाउन संविधान र कानूनमै केही बदलाव ल्याउनुपर्ने उनको तर्क छ । कर्णालीको आन्तरिक आय न्युन रहेको अवस्थामा केन्द्रबाट जनसंख्याका आधारमा मात्र बजेट पठाएर नहुने भन्दै प्रदेशलाई थप बलियो बनाउनुपर्ने बताए ।
हिमाली क्षेत्रमा हिउँ पर्ने समय र आर्थिक वर्षको तालमेल नमिलेका कारण बजेट फ्रिज हुने गरेको भन्दै बजेट ल्याउने र खर्च गर्ने कानूनी व्यवस्था सच्याउनुपर्ने बताए । आगामी १० वर्षमा आउने सूचना प्रविधिको युगबाट कर्णालीका युवाले लाभ लिनका लागि अहिले नै आमाको पोषण र बाल्यकालको शिक्षामा लगानी गर्नुपर्ने उनको भनाइ छ ।
अतिवाद र ‘भाइरल’ राजनीतिको आलोचना
सभापति थापाले नेकपा एमाले, माओवादी र नयाँ आएका दलहरूको प्रवृत्तिको आलोचना गरे । माओवादीले विगतमा हिंसात्मक राजनीति गरेर कर्णालीलाई पीडा दिएको र अहिले नयाँ भनिएका दलहरूले केवल सामाजिक सञ्जालमा ‘भाइरल’ हुनका लागि उत्तेजना र घृणा फैलाएको उनको आरोप छ ।
‘देश बनाउन पेटमा आगो र आँखामा सपना मात्र भएर पुग्दैन, सोच्न सक्ने क्षमता, धैर्यता र सुझबुझ पनि चाहिन्छ ।’ उनले भने ।
‘भ्रम चिर्नुस्, घरदैलो पुग्नुस्’
सभापति थापाले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालको कोलाहल र भ्रमलाई चिर्दै प्रत्येक मतदाताको घरदैलोमा पुग्न निर्देशन दिए । कर्णालीमा काँग्रेसको शानदार विजयले देशभर नयाँ उत्साह भर्ने विश्वास व्यक्त गर्दै उनले फागुन २१ गतेको निर्वाचनमा ‘रुख’ चिन्हमा मतदान गरी काँग्रेसलाई विजयी गराउन अपिल गरे ।








