काठमाडौँ । गोरखा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै मतपेटिका आज सदरमुकाम ल्याइएको छ। बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकी १४ वटा मतदान केन्द्रका मतपेटिका सदरमुकाम पुर्‍याइएको हो।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार चुमनुब्री गाउँपालिकाका विभिन्न वडाहरू ल्हो, सिर्दिबास, प्रोक र विहीका मतपेटिकाहरू आज बिहान ल्याइएको छ। भौगोलिक विकटताका कारण चुमनुब्रीका २३ वटा मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाटै ल्याउनुपर्ने बाध्यता थियो।

सहायक प्रजिअ शर्माका अनुसार हिजो नै ती मतपेटिका ल्याउने तयारी भए पनि मौसम खराबीका कारण सम्भव भएको थिएन। आज बिहान मौसम खुलेसँगै सेनाको हेलिकप्टरले बाँकी रहेका सबै मतपेटिका सुरक्षित रूपमा सदरमुकाम ल्याएको छ। यसअघि शुक्रबार सेनाको हेलिकप्टरले ९ वटा मतदान केन्द्रका मतपेटिका ल्याएको थियो।

गोरखा क्षेत्र नम्बर १ का सबै मतपेटिका संकलनको काम सकिएकाले आजैदेखि मतगणना अगाडि बढाउने तयारी भएको छ। गोरखामा यसपटकको प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिएको छ र गणना सुरु भएसँगै सुरुवाती नतिजा आउने अपेक्षा गरिएको छ।