निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य चिुनाव २०८२ का लागि स्थापना गरिएका विभिन्न निर्वाचनसम्बन्धी विशेष इकाइ तथा समन्वय केन्द्रहरू बन्द गरेको जनाएको छ । आयोगका प्रवक्ता नारायण भट्टराईले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मतदान तथा मतगणनाको कार्य सम्पन्न भइसकेपछि आयोगको २६ फागुन २०८२ को निर्णय अनुसार २७ फागुनदेखि लागू हुनेगरी ती इकाइहरू बन्द गरिएको हो ।

निर्वाचनको समग्र व्यवस्थापन, सूचना प्रवाह, समन्वय तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आयोगले निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र, कल सेन्टर तथा संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको थियो ।

आयोगका अनुसार निर्वाचन अवधिभर इआईडीसीअन्तर्गतको सूचना सदाचार प्रवर्द्धन इकाइले निर्वाचनसम्बन्धी ९९८ वटा हानिकारक सूचना पहिचान गरी सम्बन्धित नियामक निकायमा पठाएको थियो । त्यस्तै विद्युतीय मतदाता शिक्षा इकाइले निर्वाचन प्रक्रिया, मतदाता शिक्षा तथा सचेतनासम्बन्धी ७०४ वटा भिडियो र पोस्टर सामग्री तयार गरी आयोगका डिजिटल माध्यमबाट सार्वजनिक गरेको जनाएको छ ।

यसैबीच आयोगको कल सेन्टरमार्फत मतदाता नामावली, मतदाता शिक्षा, निर्वाचन आचारसंहितालगायत विषयमा ८ हजार २२० मतदाताका जिज्ञासा सम्बोधन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्त निर्वाचन सञ्चालन केन्द्रले भने मतपत्र तथा निर्वाचन सामग्री ढुवानीमा सुरक्षा समन्वय, ट्र्याकिङ, हवाइ ढुवानी कार्ययोजना तयार तथा कार्यान्वयन, मतदान केन्द्रसम्म सामग्री ढुवानीको निगरानी तथा निर्वाचन सुरक्षासम्बन्धी सूचना संकलन, विश्लेषण र प्रतिवेदन तयार गर्ने काम गरेको आयोगले जनाएको छ ।