काठमाडौं : राष्ट्रिय सभा सदस्य तथा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले कांग्रेस विशेष महाधिवेशन अनुचित सिद्ध भएको टिप्पणी गरेका छन् । सिंहदरबार परिसरमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता सिटौलाले संस्थागत रुपमा आफूहरुले त्यसलाई आवश्यक नठानेको पनि बताएका छन् ।

उनले पार्टीभित्रको आन्तरिक विवादलाई अदालतले छिट्टो किनारा लगाउनु पर्ने पनि बताए । अदालतको फैसलापछि मात्र कांग्रेस पार्टी अगाडि बढ्न सहज हुने बताएका छन् । पार्टीको विवाद अदालतसम्म पुग्नु र नेतृत्व तहले अदालतको फैसला कुर्नुले पार्टीभित्रको गुटगत मतभेद प्रष्ट भएको उनले बताएका छन् । नेता सिटौलाले अदालतको फैसला आएपछि छलफल गरी पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा निर्णय गरिने समेत बताएका छन् ।

नेता सिटौलाले प्रतिनिधिसभा निर्वाचनको परिणाम अप्रत्याशित आएको समेत बताएका छन् । निर्वाचनको परिणामले पुराना दलहरुको हैसियत उस्तै उस्तै देखिएको बताउँदै भने, ‘अप्रयाशित नतिजाको पार्टीमा समीक्षा हुन्छ, अहिले रास्वपाबाट निर्वाचित भएर आउनु हुने माननीयहरुले देश र जनताको हितमा काम गर्नुहुन्छ होला, त्यसमा पनि धेरै कुरा भर पर्छ ।’