काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पराजित भएयता नेपाली कांग्रेसका सभापति गगन थापा चौतर्फी दबाबमा छन् । पार्टीभित्र उनका आलोचकहरूले सभापतिबाट राजीनामा दिएर नैतिकता देखाउन भनेका छन् भने समर्थकहरू अहिले नै नेतृत्व छाड्न नहुने सुझाइरहेका छन् ।

नेपाली कांग्रेसको राजनीतिमा समकालीन नेताहरूमध्ये सर्वाधिक सफल मानिएपनि यसपटकको हारले थापालाई संवेदनशील अवस्थामा पुर्‍याएको छ । एकातिर कांग्रेसको आकार खुम्चिएको छ भने अर्कोतिर आफैँ संसदमा हुने छैनन् । यस्तो परिस्थितिमा आफू र आफ्नो नेतृत्वको औचित्य पुष्टि गर्न थापाले मेहेनत गर्नुपर्ने देखिन्छ ।

आफ्नो राजनीतिक जीवनमा कमैमात्रै हारको सामना गरेका गगनका लागि यसपटकको हार बढी पेचिलो छदैछ । विगतमा पनि चुनावी प्रतिस्पर्धामा गगनले नहारेका होइनन् । यसपटक भने पार्टी सभापति छदै, प्रधानमन्त्रीको उम्मेदवारका रूपमा रहेर पनि हार्नुले उनलाई नैतिक अप्ठ्यारो परेको छ ।

विद्यार्थी राजनीतिमा हार्नै परेन

नेपाल विद्यार्थी संघको राजनीतिमा हुँदासम्म गगनले हार्नुपरेन । त्रिचन्द्र कलेजमा कहिले नेविसंघबाटै त कहिल नेविसंघको बागी समूहबाट उनले निरन्तर जिते । २०५१ सालमा स्ववियू सदस्य जितेका गगन, २०५३ सालमा सचिव र २०५५ सालमा सभापति निर्वाचित भएका थिए ।

२०५७ मा नेविसंघको उपाध्यक्ष र २०५९ मा महामन्त्री बनेका थिए । नेविसंघको अध्यक्ष बन्ने अवसर भने थापालाई जुरेन । २०६२ मा गगन अध्यक्ष लड्न चाहेको नेविसंघको पोखरा महाधिवेशन स्थगित भयो । २०६४ को चितवन महाधिवेशनमा आफू अध्यक्ष नबन्ने अवस्था बनेपछि गगनले अध्यक्षमा प्रदीप पौडेललाई समर्थन गरे ।गगनको पहिलो हार

नेविसंघको राजनीति छाडेर पार्टीमा लागेपछि पनि पद लिन गगनलाई बाधा भएन । कांग्रेसको काठमाडौं ४ नम्बर क्षेत्रको क्षेत्रीय सभापति रहेकै बेला उनी पहिलो संविधानसभामा समानुपातिकबाट सदस्य भए । २०६७ सालमा सम्पन्न कांग्रेसको १२ औँ महाधिवेशनमा उनी सर्वाधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भए ।

तर, कांग्रेसको १३ औँ महाधिवेशन गगनका लागि सुखद रहेन । जहाँ उनले राजनीतिक जीवनको पहिलो हार सामना गरे । महामन्त्रीमा प्रतिस्पर्धा गरेका गगन तीन जनामा तेस्रो भए । डा. शशांक कोइराला महामन्त्रीमा निर्वाचित हुँदा अर्जुननरसिंह केसी निकटतम प्रतिस्पर्धी थिए । महामन्त्रीमा हारेपनि कांग्रेस राजनीतिमा यस हारपछि गगनको प्रभाव बढेको थियो ।देउवासँग लड्दा दोस्रो हार

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गगनले आफूले आफैलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरे । काठमाडौं ४ मा २०७० र २०७४ को निर्वाचन जितिसकेका गगनले आफूले जिते प्रधानमन्त्री बन्न संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने एजेण्डालाई प्राथमिकता दिए । काठमाडौं ४ बाट तेस्रोपटक जितेपछि प्रतिवद्धताअनुसार गगन संसदीय दलको नेतामा प्रतिस्पर्धी भए ।

डा. शेखर कोइरालाको प्रस्तावमा शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेता लड्दा गगनले राजनीतिक जीवनको दोस्रो हार व्यहोरे । संसदीय दलमा गगनले २५ सांसदको समर्थन पाउँदा देउवालाई ६४ सांसदले समर्थन गरेका थिए ।तेस्रो हार, सर्लाही चार

काठमाडौं ४ मा तीनपटक जितिसकेका गगन विशेष महाधिवेशनबाट कांग्रेसको सर्वोच्च पदमा पुगेका थिए । देशभरका आधा दर्जन बढी जिल्लामा उम्मेदवारीका लागि गगनको नाम एकल सिफारिस भएको थियो । गगन आफैँले रोजेर सर्लाही ४ मा उम्मेदवार बन्ने निधो गरे ।

पूर्व कांग्रेस सांसद अमरेश सिंहले अघिल्लोपटक स्वतन्त्र जितेको सर्लाही ४ परम्परागत रुपमा कांग्रेसकै गढ थियो । गगनका लागि सर्लाही ४ को प्रतिस्पर्धा सुखद रहेन । राजनीतिक जीवनको तेस्रो हार उनले व्यहोर्नुपर्यो । थापाले २२ हजार ८ सय ३१ मत ल्याउँदा चुनाव जितेका अमरेशले ३५ हजार ६ सय ८८ मत प्राप्त गरे ।

अब के गर्छन् ?

राजनीति सम्भावनाको खेल हो । चुनावअघिका सभाहरूमा गगन स्वयंले आफू हार्न तयार भएपनि देशले हार्न नहुने आशयका अभिव्यक्ति थिए । राजनीतिक जीवनमा गगनले धेरै चुनाव जितेका छन् । यसपटकसहित राजनीतिक जीवनमा तेस्रो हार व्यहोरेपनि उनी देशकै पुरानो प्रजातान्त्रिक पार्टीको नेतृत्वमा छन् । उनले नेतृत्व गरेको पार्टी संसदमा प्रमुख प्रतिपक्षीको हैसियतमा हुनेछ ।

विशेष महाधिवेशनको म्याण्डेटअनुसार नियमित महाधिवेशन गराएर पार्टीलाई अद्यावधिक गराउनुपर्ने दायित्व गगनसँग छ । विगतका राजनीतिक अभिव्यक्तिका कारण राजीनामाको दबाबमा पुगेका गगन स्वयंले उपसभापति विश्वप्रकाश शर्मासँग आफूले राजीनामा दिन चाहेको बताइसकेका छन् । यस्तो अवस्थामा कुनै पनि बेला गगनले राजीनामा दिनसक्ने सम्भावना जीवितै छ ।