काठमाडौं । देशका केही भूभागमा यति बेला (बिहीबार दिउँसो सवा २ बजे) बादल लागेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा बादल लागेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा पनि साधरणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “बाँकी भूभागमा पनि आंशिक बादल लागेको छ,” महाशाखाले भनेको छ ।

केही स्थानमा वर्षा गराउने बादल समेत विकास भएको महाशाखाले जनाएको छ । “मधेस र वाग्मती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित वर्षा गराउने बादल समेत विकास भएको छ,” महाशाखाले भनेको छ ।

यस दिन कोसीसहित वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको पूर्वानुमान छ ।

“लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस प्रदेशका थोरै स्थानहरूमा, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेकोले विभागको सूचनामा अध्यावधिक रहनुहुन अनुरोध छ,” महाशाखाले भनेको छ ।