नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदना व्यक्त गरेकामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सबै नेताप्रति धन्यवाद ज्ञापन गरेका छन्।
यसलाई उनले दुःखको घडीमा देखिने मानवता, सभ्य समाज र राजनीतिक संस्कारको सुन्दर उदाहरण भनी प्रशंसा गरेका छन्।
साथै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले ‘पिताको अनुपस्थितिले ल्याउने रित्तोपन मलाई महसुस छ’ भन्दै मर्मस्पर्शी समवेदना प्रकट गरेको बस्नेतले बताएका छन्।
उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसले हामी नेपाली संस्कारमा कति उदार र कति उच्च छौँ र अरूको दु:खमा आफूलाई देख्छौँ भन्ने नेपालीपन प्रस्तुत गर्छ।’
यस्तो छ महेश बस्नेतको पूरा स्टाटस
‘नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति विशिष्ट व्यक्तित्व, सर्वसाधारण र जनमानसले देखाउनु भएको समवेदनाले दुःखको घडीमा देखिने मानवीयता, सभ्य समाज र राजनीतिक संस्कारको सुन्दर उदाहरण प्रस्तुत गरेको छ।
यस कठिन घडीमा समवेदना व्यक्त गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने , नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत सबै नेताहरूप्रति हार्दिक धन्यवाद । साथै रास्वपाको बरिष्ट नेता बालेन्द्र शाहले “पिताको अनुपस्थितिले ल्याउने रित्तोपन मलाई महसुस छ” भन्दै मर्मस्पर्शी समवेदना प्रकट गर्नु भएको छ । यस्ले हामि नेपाली संस्कारमा कति उदार र कति उच्च छौ र अरुको दुखमा आफुलाई देख्छौ भन्ने नेपालीपन प्रस्तुत गर्छ ।
स्वर्गीय हजुरबुबा मोहनप्रसाद ओलीप्रति हार्दिक श्रद्धाञ्जली तथा अध्यक्ष केपी ओली साथै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना।’
ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार गठ्ठाघरस्थित कोरियन अस्पतालमा निधन भएको थियो।








