काठमाडौं । रास्वपा सभापति रवि लामिछाने भोलि आफ्नो चिर्वाचन क्षेत्र चितवन जाने भएका छन् । उनको खुट्टाको घाउ भने राम्रोसित बिसेक भइसकेको छैन ।

लामिछानेले हिजो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आज (बुधबार) देखि सार्वजनिक जीवनमा फर्किने बताएका थिए । पार्टी स्रोतका अनुसार उनी भोली बिहान चितवन प्रस्थान गर्ने तय भएको छ । रवि चितवनको क्षेत्र नम्बर २ का उम्मेदवार हुन् । उनले सोमबार नै चितवन जान खोजेको भए पनि चिकित्सकले रोकेका थिए ।

रविलाई खुट्टाको घाउले अझै दुःख दिइरहेको छ । उनी सहजरुपमा हिँडडुल गर्न सकेका छैनन् । चितवन गएर पनि तत्काल घरदैलो हिँड्ने स्थिति नरहेको पार्टी स्रोतले बतायो । उनले अहिले आफू बसेकै स्थानमा राजनीतिक भेटघाटहरु गर्ने छन् ।

फागुनमा भने सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह देश दौडामा हिँड्ने तय भइसकेको छ । रास्वपा नेतृ प्रतिभा रावलले फागुनको पहिलो साता नेताद्वयको संयुक्त चुनावी अभियान सुरु हुने बताइन् ।

‘उहाँहरुले सातवटै प्रदेशमा पुग्नेगरी कार्यतालिका बन्दैछ,’ उनले भनिन्, ‘दुवै नेताहरु समयले भ्याएसम्म बढीभन्दा बढी मतदातामाझ पुग्नुहुन्छ ।’ बालेन अहिले पूर्वी नेपालमा छन् । उनी आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा चुनावी प्रचारका साथै छेउछाउका जिल्लामा रास्वपा उम्मेदवारहरुको प्रचारमा पनि पुगिरहेका छन् ।

यसअघि माघ ४ मा लामिछाने र बालेन एकसाथ जनकपुर गएर रास्वपाको पहिलो चुनावी सभामा भाग लिएका थिए । सोही सभामा सहभागी हुन जाने क्रममा लामिछानेको खुट्टा पर्खालमा ठोकिएर चोट लागेको हो । त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।