काठमाडौँ- पशुपतिनाथको प्रचार–प्रसार गरी आध्यात्मिक पर्यटनको विस्तार गर्ने उदेश्यले काठमाडौँमा वृहत् पाशुपत पदयात्रा हुने भएको छ।
तनहुँको देवघाटमा रहेको महेश–संन्यास–आश्रमले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आगामी चैत्र १५ गतेदेखि ४० दिने राष्ट्रव्यापी वृहत् पाशुपत परिक्रमा (६३ सिद्धस्थल पैदलयात्रा) आयोजना गरेको जनाएको हो।
आगामी चैत १५ गते पशुपति शंकराचार्यमठमा समुद्घाटन, पशुपतिपूजन तथा वाग्मती गंगाको विशेष आरती गर्ने र १६ गते पशुपति क्षेत्रबाट पदयात्राको शुभारम्भ हुने महेश संन्यास आश्रमका पीठाधीश स्वामी रमणानन्द गिरीले जानकारी दिए।
दोलखा भीमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, जनकपुरलगायतका क्षेत्रमा रहेका सिद्धलिङ्गको दर्शन पैदलयात्रा गरिने बताइएको छ।
वृहत् पाशुपत पदयात्रामा नेपाल, भारत र वर्माका साधुसन्त, धर्माचार्य तथा श्रद्धालुहरुको उपस्थिति रहने आयोजकले जानकारी दिएको छ।







