पाल्पाको बगनासकाली गाउँपालिका–२ रोकाडाँडास्थित सिद्धार्थ राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पिकप जीप र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालक माथागढी गाउँपालिका–१ का ३६ वर्षीय खिलेश्वर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशलसिंह ठकुरीले जानकारी दिए ।
ठकुरीका अनुसार आर्यभञ्ज्याङबाट बर्तुङतर्फ आउँदै गरेको लु१च ३७४० नम्बरको पिकअप जीप र विपरीत दिशाबाट जाँदै गरेको लु८४प ४३४८ नम्बरको स्कुटर एकआपसमा ठोक्किँदा मगर गम्भीर घाइते भएका थिए । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा मृत्यु भएको हो ।
जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक मगर हाल बुटवल उपमहानगरपालिका–८ सुक्खानगरमा बस्दै आएका थिए ।








