दक्षिण अफ्रिकाले टी– २० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध ७ विकेटको सहज जित निकालेको छ ।

आइतबार माउन्ट माउङ्गानुई रंगशालामा घरेलु टोली न्युजिल्यान्डले प्रस्तुत गरेको ९२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

दक्षिण अफ्रिकाका लागि कोनर एस्टरहुइजेनले अविजित ४५, डायन फोरेस्टरले अविजित १६ र जेसन स्मिथले १० रन बनाए ।

न्युजिल्यान्डका लागि कायल जिमिसन र ज्याक फाउल्क्स र कप्तान मिचेल स्यान्टनरले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्ड १४.३ ओभरमा ९१ रनमै समेटिएको थियो । न्युजिल्यान्डका लागि जेम्स निशमले २६, मिचेल स्यान्टेनर र कोल मेकान्कीले १५–१५ तथा बिभोन ज्याकोब १० रनमा आउट भए ।

दक्षिण अफ्रिकाका लागि एनक्बोनी मोकोएनाले ३, ओटनिल बार्टम्यान, केशव महाराज र जेराल्ड कोएत्जीले २–२ विकेट लिए ।

जितसँगै दक्षिण अफ्रिकाले ५ खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल मंगलबार हुनेछ ।