काठमाडौं । वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । फरक–फरक व्यक्तिहरूलाई उनीहरूले ठगी गरेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–३ का ३८ वर्षीय कृष्णजी थापा, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ का २२ वर्षीय अनिलकुमार साह र ललितपुर महानगरपालिका–१६ का ३० वर्षीय विवेक भुजेल छन् ।

काठमाडौंको तारकेश्वर–१२ मा बस्दै आएका थापाले यूएई पठाइदिने भन्दै एकजनाबाट ६ लाख ३० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको आरोप छ ।

काठमाडौं–३१ मा बस्दै आएका साहले क्यानडा पठाइदिने भन्दै एक व्यक्तिबाट १८ लाख रुपैयाँ लिएका प्रहरीले जनाएको छ ।

चन्द्रगिरि–३ मा बस्दै आएका ललितपुरका भुजेलले यूएई पठाइदिने भन्दै दुईजनाबाट साढे तीन लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका आरोप छ ।

थापा र साहलाई सोमबार (माघ १२) र भुजेललाई मंगलबार (माघ १३) पक्राउ गरिएको हो । काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको कार्यालयका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए ।

थप अनुसन्धान र काराहीका निम्ति उनीहरूलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।