मलेखु। पृथ्वी राजमार्ग विस्तारका क्रममा सडक किनारका बिजुलीका पोल मुख्य अवरोध बनेका छन् ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने नौबिसे, धार्के, गल्छी, गजुरीलगायत क्षेत्रमा पोल नसारिँदा काम प्रभावित भएको छ । कतिपय ठाउँमा सडक कालोपत्रे गरिए पनि पोलकै कारण काम अधुरो छाडिएको छ भने केही स्थानमा पोल वरिपरि खनेर छाडिँदा दुर्घटनाको जोखिम बढेको छ ।
आयोजनाका अनुसार सार्नुपर्ने करिब ५०० पोलमध्ये अझै करिब १०० पोल बाँकी छन् । ती पोल नसारिँदा मुख्य खण्डको काम अघि बढ्न सकेको छैन ।
पोल सार्ने खर्च सडक आयोजनाले व्यहोर्ने सहमति भए पनि कार्यान्वयन ढिलो भइरहेको छ । विद्युत् प्राधिकरणले ठेकेदारमार्फत काम गरिरहेको भए पनि प्रगति अपेक्षित छैन ।
समन्वय अभाव र ढिलासुस्तीका कारण राष्ट्रिय महत्वको सडक विस्तार प्रभावित बनेको छ ।








