काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा चुनावमा पराजय भोगेको जनता समाजवादी पार्टी नेपाल आन्तरिक समीक्षामा जुटेको छ ।
पार्टीले चुनावमा एक सिट पनि जित्न सकेन । यस्तो अवस्था किन आयो भन्नेबारे आन्तरिक समीक्षामा शीर्ष नेताहरू जुटेको सो पार्टीका नेता डा.सुरेन्द्र झाले बताए । चुनावको परिणाम आएपछि पार्टीका अध्यक्ष उपेन्द्र यादव स्वयं मधेसका जिल्ला जिल्ला गएर नेता तथा कार्यकर्ताहरूसँग भेटेर चुनावमा पार्टी कमजोर हुनुको कारण बारेमा कुराकानी गरेका छन् ।
जिल्लाका पार्टी अध्यक्ष, उम्मेदवार तथा पार्टीका अन्य नेता तथा कार्यकर्तासँग अध्यक्ष यादवले आफै कुराकानी गरेका छन् । काठमाडौँ फर्केका अध्यक्ष यादवले शीर्ष नेताहरूसँगको छलफलमा जुटेका हुन् । नेताहरूसँग छलफलपछि आधिकारिक धारणा सार्वजनिक गर्ने नेता झाले बताए ।
यसखालको असफलतालाई पार्टीले गम्भीर रूपमा लिएको छ । यसको बारे निर्मम ढङ्गले समीक्षा हुन्छ । त्यसपछि पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए ।
यसअघि सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले चुनावमा असफलता हात लाग्नुको कारणमा बालेन शाहलाई देखाएको थियो । मधेसको छोरा प्रधानमन्त्री बन्दैछन् भनेर मधेसको मत बालेनलाई गएको निष्कर्ष निकाल्दै मोर्चाले बालेन प्रधानमन्त्री बन्न लागेकोमा खुसी व्यक्त गरेको थियो ।
मधेसको छोरा प्रधानमन्त्री बन्नुमा मधेसवादी दलले गरेको आन्दोलनकै देन रहेको उनीहरुले बैठकबाट ठहर गरेका थियो । तर लोकतान्त्रिक मोर्चाले गरेको निर्णयलाई जसपा नेपालका अधिकांश नेताले विरोध जनाएका थिए । लोकतान्त्रिक मोर्चाको बैठक जसपा नेपालका संरक्षक महन्थ ठाकुरको अध्यक्षतामा बसेको थियो ।
तर त्यो बैठकले गरेका निर्णयप्रति जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सन्तुष्ट नरहेको बताइएको छ ।
जसपा नेपाल चाँडै बैठक बोलाएर आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेको हो ।







