काठमाडौं- ‘स्वस्थ मुख, सुखी जीवन’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ यस वर्षको ‘विश्व मुख स्वास्थ्य दिवस २०२६’ महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइएको छ।
फेडेरेसन अफ नेप्लिज डेन्टल स्टुडेन्ट्सको आयोजनामा भएको उक्त कार्यक्रमले मुखको स्वास्थ्य र समग्र शरीरको सम्बन्धबारे जनचेतना जगाउने उद्देश्य राखेको थियो।
दिवसको अवसरमा आयोजित वाकाथन टिचिङ अस्पतालबाट सुरु भई सहिद गंगालाल हृदय केन्द्र हुँदै पुनः टिचिङमै पुगेर समापन भएको थियो। पैदल यात्रामा सहभागी विद्यार्थी तथा चिकित्सकहरूले मुखको स्वास्थ्य र यसको अन्य शारीरिक अंगहरूसँगको सम्बन्ध झल्काउने प्लेकार्डहरू प्रदर्शन गरेका थिए।
अस्पताल परिसरमा आयोजित प्रोजेक्ट प्रदर्शनीमा विद्यार्थीहरूले मुख स्वास्थ्यका आधुनिक प्रविधि र रोकथामका उपायहरूबारे सर्वसाधारणलाई जानकारी दिएका थिए। कार्यक्रममा युवाहरूको फ्ल्यासमब अर्को आकर्षण बनेको थियो, जसले मनोरञ्जनात्मक शैलीमा स्वास्थ्य सन्देश प्रवाह गर्दै बिरामी तथा सर्वसाधारणको ध्यान खिचेको थियो।
कार्यक्रमको मुख्य आकर्षण ‘मुख समग्र स्वास्थ्यको ऐना हो’ विषयक विशेष प्यानल छलफल रहेको थियो। डा. सिर्जना दाहालले सहजीकरण गरेको उक्त छलफलमा चिकित्सा र दन्त चिकित्सा क्षेत्रका प्रतिष्ठित विज्ञहरूको सहभागिता थियो।
प्रो. डा. मोहन राज शर्मा (डीन, आईओएम), डा. प्रकाश बुढाथोकी (प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय), प्रो. डा. खेम बहादुर कार्की (सहायक क्याम्पस प्रमुख, महाराजगञ्ज मेडिकल क्याम्पस), एशोसिएट प्रोफेसर डा. राजिव यादव (विभागीय प्रमुख, अर्थोडोन्टिक्स), डा. प्रदिप भण्डारी (सचिव, नेपाल डेन्टल एशोसिएसन), डा. दीपा निरौला (लेक्चरर, ओरल मेडिसिन एण्ड रेडियोलोजी) र डा. अञ्जु खापुङ (लेक्चरर, कम्युनिटी डेन्टिस्ट्री)को सहभागिता रहेको थियो।
छलफलका क्रममा विज्ञहरूले मुखको स्वास्थ्य कमजोर हुँदा मुटु रोग, मधुमेह र अन्य गम्भीर स्वास्थ्य समस्याहरू निम्तिन सक्ने तथ्य औंल्याए। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सरकारी नीति र योजनामा पनि मुख स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकतामा जोड दिए।
फेडेरेसन अफ नेप्लिज डेन्टल स्टुडेन्ट्सका कार्यवाहक अध्यक्ष डा. रोहित भट्टका अनुसार यस प्रकारका कार्यक्रमले भविष्यका दन्त चिकित्सकहरूलाई प्रोत्साहित गर्नुका साथै आम नागरिकमा मुखको स्वास्थ्यप्रति गम्भीरता पैदा गर्ने विश्वास लिइएको छ।








