कञ्चनपुर- सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने राना थारू समुदायका महिलाले प्रयोग गर्ने परम्परागत गहना र पहिरन लगाउने चलन घट्दै जान थालेको छ। आधुनिक गहना, बजारमा पाइने कपडा र जीवनशैलीमा आएको परिवर्तनका कारण परम्परागत पहिरन र गहनाको प्रयोग घट्दै गएको हो।
शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीकी ६० वर्षीया सोमती रानाका अनुसार पहिले महिलाहरूले घरमै हातले बुनेका घघँरिया, अँगिया, फतुई, उढनिया लगायतका पहिरन लगाउने गर्थे । त्यसबेला महिलाले शिरदेखि पाउसम्म चाँदीका गहनाले सजिने चलन थियो । कपालमा चाँदीको चाँपी, कानमा वीर, नक्बेसर, नाकमा नथुनी, घाँटीमा चाँदीका पैसाले बेरेको कालो धागो, त्यसको तल कठुला, हसुला र सकरगरेला लगाउने चलन रहेको उनले बताइन् ।
‘पाखुरामा लगौरा, नाडीमा पहुँची, औँलामा कलात्मक औँठी, कम्मरमा सिक्री भएको कैँधनी, पैतलामाथि ढुन्नी, त्यसको तल पैँडा र पायल लगाउने गरिन्थ्यो’ उनले भनिन्, ‘घाँटीमा कण्ठ, गरिया र घिच्ची लगाउने प्रचलन पनि रहेको थियो।’
परम्परागत पहिरन र गहना लगाएकी महिलालाई पहिले समाजमा सम्मानका साथ हेर्ने गरिन्थ्यो । ‘टाउकामा उढनिया, गलामा हार र कण्ठसिरीमाला, छातीमा फतुई, कम्मरमा घघँरिया र खुट्टामा पैँडा लगाएकी महिलालाई सभ्य, संस्कारयुक्त र प्रतिष्ठित महिलाका रूपमा लिने गरिन्थ्यो,’ चन्द्रमती रानाले भनिन् ।
फुलमती रानाका अनुसार पहिले पुरुष र महिलाको पहिरन स्पष्ट रूपमा परम्परागत थियो । अहिले पुरुषले पुरानो पहिरन लगाउन छाडिसकेका छन् भने महिलाको पहिरनमा पनि आधुनिकताको प्रभाव देखिन थालेको छ ।
‘राना थारू समुदायमा प्रयोग हुने धेरै गहना चाँदीका हुने गर्थे’ उनले भनिन्, ‘ती गहना केवल सौन्दर्यका लागि मात्र नभइ सामाजिक प्रतिष्ठा, आर्थिक अवस्था र सांस्कृतिक पहिचानसँग पनि जोडिएका थिए, विवाह, पर्व, पूजा, नाचगान तथा विशेष अवसरमा महिलाले अनिवार्य रूपमा ती गहना र परम्परागत पहिरन लगाउने गर्थे।’
उनका अनुसार पहिले घरमै कपडा र धागो तयार गरी पहिरन बनाउने चलन थियो । महिलाहरू आफैँले पहिरन तयार गर्ने गर्थे । अहिले बजारमा पाइने कपडा प्रयोग गर्न थालिएपछि घरमा कपडा तयार गर्ने परम्परा पनि हराउँदै गएको छ । यससँगै परम्परागत पहिरन पनि विस्तारै हराउँदै गएको स्थानीय बुढापाकाको भनाइ छ ।
परम्परागत गहना बनाउने कालिगढको सङ्ख्या घट्नु पनि अर्को कारण रहेको बताइएको छ ।








