मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा पौने ६ अर्ब राजस्व संकलन गरेको छ । गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको कार्यालयले यही चैत ७ गतेसम्म पाँच अर्ब ७१ करोड १० लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको हो ।

कार्यालय प्रमुख रमेश खड्काका अनुसार, उक्त अवधिमा नाकाबाट १२ अर्ब १७ करोड मूल्यबराबरको मालवस्तु आयात भएको छ भने २० करोड ३० लाखबराबरको मालवस्तु चीनतर्फ निर्यात भएको छ ।

हालसम्म कोरलानाकाबाट भित्रिएका दुई हजार ३४७ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले बताए ।

यसैगरी, मुस्ताङ भन्सार कार्यालयबाट एक हजार ८०४ वटा मालवाहक कन्टेनरको भन्सार जाँचपास भएको भन्सार प्रमुख खड्काको भनाइ छ ।

गत असार र साउनमा पहिरोका कारण रसुवागढी नाका र तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरलानाकालाई वैकल्पिक नाकाका रूपमा प्रयोग गरिएको थियो ।

यसलगत्तै, नेपाल सरकार भन्सार विभागले वैकल्पिक रूपमा प्रयोग गरिएको कोरलानाकालाई पूर्ण रूपमा सञ्चालन गराएको थियो । बर्सेनि १०/१५ लाख आर्थिक राजस्व संकलन गर्ने यहाँको मुस्ताङ भन्सार कार्यालयले असोजयता उल्लेखनीय राजस्व संकलन गर्न सफल भएको कार्यालयको भनाइ छ ।