काठमाडौँ । १२ लाख स्मार्ट सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ गरिसक्नु पर्ने सम्झौताको म्याद अब एक महिनामात्र बाँकी छ । ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने सम्झौता भएकोमा सुरक्षण मुद्रण केन्द्रले पाँच महिनामा जम्मा २८ हजार थानमात्र छापेको छ ।

यातायात व्यवस्था विभागकाअनुसार केन्द्रले २८ हजार थान छापेर विभागलाई हस्तान्तरण गरेको छ । कुल करिब २८ लाख लाइसेन्स छाप्न बाँकी छ । समयमै लाइसेन्स छाप्न नसक्दा वर्षौंदेखि ‘ट्रायल पास’ गरेको रसिद खल्तीमा बोकेर हिँड्न बाध्य छन् सेवाग्राही ।

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा आक्रोशित भिडले मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी गर्दा विभागको कार्यालयमा रहेका पुराना लाइसेन्स प्रिन्टरहरू, सर्भर र अन्य प्राविधिक उपकरण पूर्ण रूपमा क्षतिग्रस्त भए । विभाग आफैँले लाइसेन्स छाप्ने भौतिक क्षमता गुमाएपछि वैकल्पिक र स्थायी समाधानको रूपमा सुरक्षण मुद्रण केन्द्रलाई छपाइको पूर्ण जिम्मेवारी सुम्पियो ।

सुरक्षण मुद्रण केन्द्रसम्बन्धी ऐनमा सवारी लाइसेन्स केन्द्रले छाप्न पाउने कानुनी व्यवस्था भएपछि विभागले यसको तयारी अघि बढाएको थियो । असारको पहिलो साता नै विभाग र केन्द्रबिच छपाइका लागि प्रारम्भिक सम्झौता भएको थियो । सम्झौता भए पनि प्राविधिक तयारी र कच्चा पदार्थको अभावका कारण छपाइ तत्काल सुरु हुन सकेको थिएन ।

अन्ततः गत कात्तिक १२ गते विभाग र केन्द्रबिच ६ महिनाभित्र १२ लाख थान लाइसेन्स छाप्ने औपचारिक र अन्तिम सम्झौता भएको थियो ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रको अत्याधुनिक भवनमा गत कात्तिक २१ गतेबाट विधिवत् रूपमा लाइसेन्स छपाइ सुरु भयो । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रिन्टिङ प्रेसको बटन थिचेर उद्घाटन गरेका थिए । त्यस बेला केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाले सुरुको तीन महिनामा प्रतिमहिना १ लाखका दरले र बाँकी तीन महिनामा ९ लाख गरी कुल १२ लाख लाइसेन्स छपाइ सक्ने लक्ष्य सार्वजनिक गरेका थिए ।

यद्यपि पाँच महिनासम्म २८ हजार थानमात्रै छपाइ भएको छ । कच्चा पदार्थको आयात र खरिद प्रक्रियाका कारण छपाइमा ढिलाइ भएको जनाइएको छ ।

वैशाख १२ को ‘डेडलाइन’ नजिकिँदै गर्दा केन्द्रका कार्यकारी निर्देशक ढुंगानाले दैनिक २५ हजारदेखि ५० हजार कार्ड छापेर म्यादभित्र सकाउने दाबी गरेका छन् ।

सुरुवाती चरणमा दैनिक ५०० थानबाट सुरु गरिएको छपाइ अहिले दैनिक २५ हजार थान पुगेको छ । ढुंगानाले पछिल्लो ५ दिनमा मात्रै १ लाख १७ हजारप्रति लाइसेन्स छापिएको जानकारी दिए ।

‘हामीले डेटा प्राप्त गरेर छपाइको कामलाई तीव्र बनाएका छौँ, अबको दुई–तीन दिनभित्रै १ लाख १७ हजार लाइसेन्स विभागलाई हस्तान्तरण गर्दैछौँ,’ उनले भने, ‘कच्चा पदार्थको आयात र खरिद प्रक्रियाका कारण छपाइमा ढिलाइ भयो ।’

यता यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले पनि मुद्रण केन्द्रले क्षमता बढाएको दाबी गरे । खतिवडाका अनुसार केन्द्रले अब दैनिक ५० हजारसम्म कार्ड छाप्न सक्ने गरी प्रणाली र जनशक्ति परिचालन गरेको जानकारी विभागलाई दिइएको छ ।

अहिले केन्द्रमा दुई सिफ्टमा काम भइरहेको र आवश्यकता अनुसार तीन सिफ्टमै मेसिन चलाएर भए पनि तोकिएको समयसीमा (वैशाख १२) भित्र १२ लाख कार्ड छापिसक्ने लक्ष्य राखिएको छ ।

लाइसेन्स छपाइका लागि सबैभन्दा महत्त्वपूर्ण पक्ष डेटाको उपलब्धता हो । निर्देशक खतिवडाका अनुसार विभागले हालसम्म २ लाख थान लाइसेन्सको डेटा केन्द्रलाई पठाइसकेको छ । थप ४ लाख डेटा तयारी अवस्थामा राखिएको छ ।

‘हामीसँग डेटाको कुनै अभाव छैन, मुद्रण केन्द्रले मागेको खण्डमा तत्काल उपलब्ध गराउन सक्छौँ,’ खतिवडाले भने ।

केही समयअघि विभाग र केन्द्रबिच डेटा आदानप्रदानमा प्राविधिक समस्या देखिए पनि अहिले ती समस्या समाधान भइसकेको जनाइएको छ । कार्यकारी निर्देशक ढुंगानाले विभागबाट अहिले नियमित रूपमा डेटा प्राप्त भइरहेको र बनेपास्थित मुद्रण केन्द्रमा छपाइ र फिनिसिङको काम सुचारु रहेको बताए ।

किन भएको थियो ढिलाइ ?

लाइसेन्स छपाइमा वर्षौंदेखि ढिलाइ हुनुको मुख्य कारण अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) प्रक्रिया र कच्चा पदार्थको अभाव रहेको दुवै निकायले स्वीकार गरेका छन् ।

निर्देशक खतिवडाका अनुसार कार्ड खरिदका लागि गरिने अन्तर्राष्ट्रिय टेन्डर र सामग्री ढुवानीमा समय लागेकाले सुरुमा छपाइ सुस्त भएको थियो ।

सम्झौता भएको ५ महिना पुगिसक्दा पनि छपाइमा ढिलाइ हुनुमा ढुंगानाले पनि खरिद प्रक्रिया र कच्चा पदार्थको व्यवस्थापनलाई मुख्य कारण बताएका छन् ।

उनले भने, ‘सुरुमा खरिद प्रक्रिया टुङ्ग्याउन समय लाग्यो । विदेशबाट कच्चा पदार्थ आयात गर्न र मेसिनरी सेटअप मिलाउन पनि केही समय खर्च भयो । अहिले सबै सामान उपलब्ध छ, त्यसैले अब छपाइमा कुनै अवरोध छैन ।’

सुरुवाती चरणमा सीमित कार्डमात्र उपलब्ध हुँदा विभागले वैदेशिक रोजगारीमा जाने, अध्ययनका लागि विदेश जाने विद्यार्थी, कूटनीतिक नियोग र शान्ति सैनिक मिसनमा जानेहरूलाई मात्र अत्यावश्यक लाइसेन्स वितरण गरेको थियो । हालसम्म करिब २८ हजार यस्ता अत्यावश्यक लाइसेन्स छापेर वितरण गरिसकिएको खतिवडाले जानकारी दिए ।

विगत ३–४ वर्षदेखि थुप्रिएर रहेको लाइसेन्सको ‘ब्याकलग’ करिब २८ लाख रहेको यातायात व्यवस्था विभागले जनाएको छ । सम्झौताअनुसार वैशाख १२ गतेभित्र १२ लाख थान लाइसेन्स छापिसक्ने दाबी छ ।

त्यसपछि सम्झौताको १२ लाख थान लाइसेन्स बाहेक विगत ३–४ वर्षदेखि रोकिएका (पेन्डिङ) करिब १२ देखि १३ लाख लाइसेन्स पनि अबको तीन महिनाभित्र छापेर सक्ने योजना केन्द्रले बनाएको छ ।

‘लामो समयदेखि रोकिएका सबै लाइसेन्स आगामी ३ महिनाभित्र छापेर सर्वसाधारणको हातमा पु¥याउने गरी हामीले तयारी थालेका छौँ,’ ढुंगानाले भने ।