अन्तरिम सरकारको कार्यकाल पूरा गरेपछि प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सरकारी निवास छोड्ने भएकी छन् ।

पदभार सम्हालेदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएकी कार्कीले अब नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि धापासीस्थित आफ्नै निजी निवासमा फर्किनेछिन् ।

प्रधानमन्त्री कार्कीले नयाँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शपथ लिएकै दिन बालुवाटारको सरकारी निवास छाड्ने भएकी हुन् ।

नयाँ प्रधानमन्त्रीले शपथ लिएपछि कार्की स्वतः पदमुक्त हुनेछिन् । नयाँ प्रधानमन्त्रीलाई शुक्रबार राष्ट्रपति भवनमा स्वागत गरेपछि कार्की त्यहीँबाट निजी निवासतर्फ लाग्ने छिन् ।

बालेन शाहले चैत १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्रीको शपथ लिँदैछन् । उनी जेन जी आन्दोलनपछि कार्की भदौ २७ मा प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।

उनी नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ ।

‘नयाँ प्रधानमन्त्रीले शपथ लिएलगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर उहाँ निजी निवासमा फर्कनुहुन्छ’, प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार राम रावलले भने ।

कार्कीले बालुवाटारस्थित सरकारी निवासबाट आफ्ना सबैजसो सामान निजी निवास धापासी सारिसकेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीका प्रेस सल्लाहकार रावलका अनुसार एक साताअघिबाटै सामान सार्न थालिएको हो ।

प्रधानमन्त्री कार्कीको धापासीस्थित निजी निवास केही महिनादेखि खाली रहेका कारण फोहोर जमेको थियो । एक हप्ता लगाएर सबै सफा गरिएको र बस्नका लागि पूर्णतः योग्य भइसकेको रावलले बताए ।