एजेन्सी । अमेरिकाको क्यालिफोर्निया राज्यको एक अदालतको निर्णायक मण्डल (जुरी) ले एक ऐतिहासिक मुद्दामा मेटा र युट्युबलाई सबै आरोपहरूमा दोषी ठहर गरेको छ ।
उक्त मुद्दामा यी प्रविधि हस्तीहरूले जानाजानी एक युवतीलाई आफ्नो एपको कुलतमा फसाएको र उनको मानसिक स्वास्थ्यमा क्षति पुर्याएको आरोप लगाइएको थियो ।
निर्णायक मण्डलले मेटा र युट्युब आफ्ना प्लेटफर्महरूको डिजाइनमा लापरवाह रहेको, उनीहरूको डिजाइन खतरनाक छ भन्ने थाहा पाउँदापाउँदै पनि ती जोखिमहरूबारे चेतावनी दिन असफल भएको र वादीलाई ठूलो क्षति पुर्याएको निष्कर्ष निकालेको छ ।
यस निर्णयले यस्तै प्रकृतिका सयौं अन्य मुद्दाको लागि एउटा नजिर स्थापित गर्न सक्छ र सामाजिक सञ्जाल प्लेटफर्महरूले कसरी काम गर्छन् भन्ने कुरामा ठूलो परिवर्तन ल्याउन सक्छ, विशेषगरी युवा प्रयोगकर्ताहरूका लागि । साथै, यसले प्रविधि कम्पनीहरूलाई लाखौं वा अर्बौं डलरको नोक्सानीतर्फ धकेल्न सक्छ ।
यो मुद्दा सामाजिक सञ्जालका लागि एउटा महत्त्वपूर्ण मोड पनि हो । वर्षौंदेखि अभिभावक, अभियन्ता र कानुन निर्माताहरूले बालबालिकामा मानसिक स्वास्थ्यदेखि यौन शोषणसम्मका अनलाइन हानिहरूबारे चिन्ता व्यक्त गर्दै आएका थिए ।
अहिले २० वर्ष पुगेकी क्यालिफोर्नियाकी केल नामकी युवती र उनकी आमाले मेटा, गुगलको युट्युब, स्न्यापच्याट र टिकटक विरुद्ध मुद्दा दायर गरेका थिए । उनले यी कम्पनीहरूले बालबालिकाको रूपमा उनलाई जानाजानी एपको लतमा पारेको र त्यसका कारण उनमा छटपटी, बडी डिस्मोर्फिया (आफ्नो शरीरको बनावटप्रति हीनताबोध) र आत्महत्याको सोच विकसित भएको आरोप लगाएका थिए ।
स्न्याप र टिकटकले भने मुद्दाको सुनुवाइ हुनुअघि नै अदालती मेलमिलाप गरेका थिए ।
निर्णायक मण्डलले मेटालाई यसको प्लेटफर्ममा बाल यौन शोषणको मामिलामा दोषी ठहर गरेको छ ।
लस एन्जलस सुपेरियर कोर्टमा सात हप्ताको बहसपछि निर्णायक मण्डलले आठ दिनभन्दा बढी समय छलफल गरेको थियो । उनीहरूले कम्पनीहरूलाई कुल ३० लाख डलर क्षतिपूर्ति तिर्न आदेश दिएका छन् ।
गुगल प्रवक्ताका अनुसार, निर्णायक मण्डलले युट्युबलाई थप ९ लाख डलर र मेटालाई २१ लाख डलर दण्डात्मक जरिवाना तिर्न सिफारिस गरेको छ ।
निर्णायक मण्डलका अनुसार, केललाई भएको क्षतिमा मेटा ७० प्रतिशत र युट्युब ३० प्रतिशत जिम्मेवार छन् ।
आफ्नो निर्णय सुन्न केल अदालतमा उपस्थित थिइन् । साथमा अन्य किशोरकिशोरीका अभिभावकहरू पनि थिए जो सामाजिक सञ्जालबाट पीडित भएको दाबी गर्छन् ।
मेटा र युट्युबले यो फैसला विरुद्ध पुनरावेदन गर्ने योजना बनाएको बताएका छन् ।
मेटाका प्रवक्ताले भने, ‘हामी फैसलाप्रति सम्मानपूर्वक असहमति जनाउँछौं र पुनरावेदन गर्नेछौं । किशोरकिशोरीको मानसिक स्वास्थ्य अत्यन्तै जटिल विषय हो र यसलाई एउटै एपसँग जोड्न सकिँदैन । हामी दृढताका साथ आफ्नो बचाउ जारी राख्नेछौं किनकि हरेक मुद्दा फरक हुन्छन् र हामी किशोरकिशोरीलाई अनलाइनमा सुरक्षित राख्ने आफ्नो रेकर्डप्रति विश्वस्त छौं ।’
गुगलका प्रवक्ता जोसे कास्टानेडाले एक विज्ञप्तिमा यस मुद्दाले युट्युबलाई गलत रूपमा बुझेको भनेका छन् कि । युट्युब जिम्मेवारीपूर्वक बनाइएको स्ट्रिमिङ प्लेटफर्म हो, सामाजिक सञ्जाल साइट होइन, उनले थपे ।
मेटा र युट्युबले मुद्दाका दाबीहरूलाई अस्वीकार गरेका थिए र उनीहरूका प्लेटफर्महरू कुलत लगाउने खालका हुन सक्छन् भन्ने धारणाको विरोध गरेका थिए । उनीहरूले हालैका वर्षहरूमा ल्याएका सुरक्षा सुविधाहरू, जस्तै अभिभावकीय निगरानी उपकरण र किशोरकिशोरीका लागि सामग्री र गोपनीयता प्रतिबन्धहरूले उनीहरूलाई सुरक्षित राख्ने दाबी गरेका छन् ।
सामाजिक सञ्जाल कम्पनीहरू विरुद्ध रहेका १५ सयभन्दा बढी यस्तै मुद्दाहरूमध्ये केलको मुद्दा पहिलोपटक फैसला भएको हो । बुधबारको नतिजाले अन्य मुद्दाहरूको निर्णय नगरे पनि ती मुद्दाहरू कसरी सुल्झिन्छन् भन्ने कुरामा मार्गदर्शन गर्न सक्छ ।बारम्बारको हारले यी प्रविधि हस्तीहरूलाई अर्बौं डलरको दायित्वमा पार्न सक्छ र उनीहरूलाई आफ्ना प्लेटफर्महरू परिवर्तन गर्न बाध्य पार्न सक्छ ।
यी कम्पनीहरूले यसै वर्षपछि देशभरका विद्यालय जिल्लाहरू र राज्यका महान्यायाधिवक्ताहरूले दायर गरेका सयौं थप मुद्दाहरूको पनि सामना गर्दैछन् । यस कानुनी लडाइँलाई कतिपयले ठूला प्रविधि कम्पनीहरूका लागि बिग टोब्याको (सुर्तीजन्य कम्पनीहरूले भोगेको ठूलो कानुनी संकट) क्षणसँग तुलना गरेका छन् ।
बुधबारको यो निर्णय न्यु मेक्सिकोको एउटा निर्णायक मण्डलले मेटालाई राज्यको उपभोक्ता संरक्षण कानुन उल्लंघन गरेको र बालबालिकालाई यौन शिकारीहरूबाट जोगाउन असफल भएको भन्दै दोषी ठहर गरेको एक दिनपछि आएको हो ।
यो निर्णय ती परिवार र अभियन्ताहरूका लागि जवाफदेहिताको एक महत्त्वपूर्ण क्षण हो जसले वर्षौंदेखि सामाजिक सञ्जालमा थप सुरक्षा घेराहरूको माग गर्दै आएका थिए । सामाजिक सञ्जालका कारण आफ्ना सन्तानलाई क्षति पुगेको वा मृत्यु भएको बताउने अभिभावकहरू लस एन्जलसको सुनुवाइमा भाग लिन अमेरिकाभरबाट आएका थिए । तीमध्ये धेरै अभिभावकले यस निर्णयले कांग्रेसलाई थप व्यापक अनलाइन सुरक्षा कानुन पारित गर्न प्रेरित गर्ने आशा राखेका छन् ।
अनलाइन सुरक्षा निगरानी गर्ने संस्था कमन सेन्स मिडियाका संस्थापक र सीईओ जेम्स स्टेयरले लस एन्जलसको निर्णयपछि एक विज्ञप्तिमा भने, ‘सामाजिक सञ्जालका दिग्गजहरूले प्रयोगकर्ताहरूको संलग्नताभन्दा बालबालिकाको सुरक्षालाई प्राथमिकता दिएको भए उनीहरूले कहिल्यै अदालतको कठघरामा उभिनुपर्ने थिएन । यसको सट्टा उनीहरूले बालबालिकालाई हानि भइरहेको देखाउने आफ्नै अनुसन्धानलाई दबाए र बालबालिका तथा समाजलाई ठूला, अनियन्त्रित र अत्यधिक नाफामूलक प्रयोगहरूमा गिनिपिग (प्रयोगशालाका जीव) को रूपमा प्रयोग गरे । अब ती अधिकारीहरूलाई जवाफदेही बनाइँदैछ ।’
केल, जसलाई उनको पहिलो नामले मात्र सम्बोधन गरिएको थियो किनकि उनका दाबीहरू उनी नाबालक छँदाका घटनाहरूसँग सम्बन्धित छन्, ले अदालतमा आफ्नो कुलतले कसरी उनको वयस्क जीवनलाई अझै पनि बाधा पुर्याइरहेको छ भन्ने वर्णन गरिन् । उनले कामबाट लुकेर फोन चलाउन बाध्य भएको र एपहरूमा फिल्टरहरू प्रयोग गरेर आफ्नो रूप परिवर्तन गर्न घण्टौं समय बिताउने गरेको बताइन् ।
मेटाले केलको मानसिक स्वास्थ्य चुनौतीहरूको कारण सामाजिक सञ्जाल नभई उनको कठिन बाल्यकाल भएको दाबी गरेको थियो । तर, केलका वकिल मार्क ल्यानियरले तर्क गरे अनुसार ती चुनौतीहरूले नै कम्पनीहरूलाई बालबालिकाको सुरक्षा गर्न अझ बढी जिम्मेवार बनाउनुपर्थ्यो ।
युट्युबले केलको खाताको रेकर्डले उनले प्रत्येक दिन छोटो समयका लागि मात्र प्लेटफर्म प्रयोग गरेको देखाएको र यसले उनको कुलतको दाबीलाई खण्डन गर्ने बताएको थियो । तर, ल्यानियरले धेरै बच्चाहरू जस्तै केल पनि प्रायः आफ्नो खातामा लग–इन नगरी प्लेटफर्म प्रयोग गर्ने गरेको बताए ।
सुनुवाइका क्रममा मेटाका सीईओ मार्क जकरबर्ग, इन्स्टाग्रामका प्रमुख एडम मसेरी र युट्युबका इन्जिनियरिङ उपाध्यक्ष क्रिस्टोस गुडरो लगायत कम्पनीका शीर्ष अधिकारीहरूको गवाही लिइएको थियो ।
मसेरीले सामाजिक सञ्जालको प्रयोग समस्याग्रस्त हुन सक्ने तर क्लिनिकल्ली कुलत नहुने विश्वास व्यक्त गरे । गुडरोले उनका आफ्नै छोराछोरीले प्रत्येक दिन घण्टौंसम्म युट्युब प्रयोग गर्ने र त्यो उनीहरूका लागि राम्रो भएको गवाही दिए ।
अदालतमा पेश गरिएका आन्तरिक कागजातहरूले युवा प्रयोगकर्ताहरूलाई आकर्षित गर्न कम्पनीहरूले गरेका प्रयासहरूका साथै आफ्ना प्लेटफर्महरूका सम्भावित जोखिमहरूबारे उनीहरूलाई के थाहा थियो भन्ने कुरामा प्रकाश पारेका छन् ।
उदाहरणका लागि, मेटाका कागजातहरूले कर्मचारीहरू र १८ जना विशेषज्ञहरूले हानिकारक हुन सक्ने चिन्ता व्यक्त गर्दागर्दै पनि कम्पनीले प्रयोगकर्ताको रूप परिवर्तन गर्ने ब्युटी फिल्टरहरूलाई अनुमति दिने निर्णय कसरी गर्यो भन्ने देखाएको छ ।








