काठमाडौं । नेपालमा सञ्चालनमा रहेका राइड सेयरिङ कम्पनीले मनोमानी भाडा निर्धारण र राइडरको श्रमशोषण गरेको भन्दै प्रो राइडर समूहले चरणबद्ध आन्दोलन थालेको छ । सरकारको कमजोर नियमनका कारण राइडर मर्कामा परेका भन्दै आइतबार (चैत १५) विरोध प्रदर्शन गरिएको हो ।
विगत लामो समयदेखि सम्बन्धित निकाय र कम्पनीसँग संवादको प्रयास गर्दा पनि समस्यालाई बेवास्ता गरिएको भन्दै समूहले आक्रोश व्यक्त गरेको छ । काठमाडौंको बल्खुमा प्रदर्शनमा उत्रिएका सहभागीले निधारमा कालो पट्टी बाँधेर विरोध जनाएका हुन् ।
सामूहिक धर्ना तथा प्रदर्शन, जनसमर्थन जुटाउन व्यापक हस्ताक्षर अभियान, ठूलोस्तरको र्याली, रिले अनशनमार्फत निरन्तर दबाब सिर्जना र अन्तिम विकल्पका रूपमा राइड सेयरिङ सेवा पूर्ण बन्द गर्ने उनीहरूको चेतावनी छ ।
राइडरको धैर्यलाई कमजोरी ठानिएको भन्दै उनीहरूले पाँचबुँदे माग अघि सारेका छन् । नेपालभर सञ्चालनमा रहेका सबै राइड सेयरिङ एपले प्रतिकिलोमिटर २७ रुपैयाँको समान भाडादर अनिवार्य रूपमा लागु गर्नुपर्ने उनीहरूको माग छ ।
विभिन्न योजना, बोनस वा ‘गोल ट्रिप’का नाममा राइडरको भाडादर घटाउने/बढाउने कार्य तुरुन्त बन्द गरिनुपर्ने, देशमा आधिकारिक रूपमा दर्ता नभएका राइड सेयरिङ कम्पनीलाई तत्काल नियमनको दायरामा ल्याई सञ्चालनमा रोक लगाउनुपर्ने, विदेशी राइड सेयरिङ एपलाई कानुनी दायरामा ल्याइनुपर्ने र पालना नगरेमा सरकारको मातहतमा नेपाली एप सञ्चालन गरिनुपर्ने, विदेशी एपमार्फत दैनिक रूपमा ठूलो मात्रामा रकम बाहिरिने अवस्थालाई रोक्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको माग छ ।
समूहले नेपाली एपलाई प्रोत्साहन गर्न र सरकारद्वारा आवश्यक सेवा सुविधा उपलब्ध गराई सहज रूपमा सञ्चालनको पहल गर्नुपर्नेमा समेत जोड दिएको छ ।








