काठमाडौं । पूर्वप्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले दोस्रो दिन पनि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानसँगै सबै जिल्ला प्रशासन कार्यालयमा एमालेका जनवर्गीय संगठनहरूले विरोध पत्र बुझाउँदै ओली पक्राउको दोस्रो दिन पनि प्रदर्शन गरिरहेका छन् । एमालेले शनिबार पनि काठमाडौंलगायत केही स्थानमा प्रदर्शन गरेको थियो ।

शनिबार बिहान ओली पक्राउ परेसँगै एमालेको सचिवालय बैठकले देशभर प्रदर्शन गर्ने र पक्राउविरुद्ध राजनीतिक र कानुनी लडाइं लड्ने निर्णय गरेको दियो ।

काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा एमाले कार्यकर्ताहरू प्रदर्शनमा उत्रिएका छन् ।

गत २३ र २४ भदौमा जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई दोषी देखाउँदै कारवाहीका लागि सिफारिस गरेको थियो । रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै गृहमन्त्री सुधन गुरुङको निर्देशनमा प्रहरी प्रशासनले उनलाई तुरुन्तै पक्राउ गरेको हो ।