प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले टिममा पुरानै अनुहारको साथ लिएका छन् । बालेनले बनाएको आफ्नो सचिवालय टिममा महानगरपालिकाको मेयरमा हुँदा प्रत्यक्ष अप्रत्यक्ष साथ दिएको व्यक्तिलाई जोडेका छन् ।
शाहनिकटका अनुसार कुमार वेनलाई प्रधानमन्त्री शाहले प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरेका छन् । वेन लामो समयदेखि बालेनको साथमा रहेका थिए । मेयरको चुनावमा वेन रणनीतिकारकै रूपमा चिनिएका थिए । अहिले पनि बेन पर्दा पछि बसेर चुनावी रणनीतिमा लागेका थिए ।
त्यसैगरी, राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन् । रवि लामिछानेसँग वार्ता गराउने भूमिकामा सक्रिय शाहले आफनो निवासमा केही पटक संवाद गराएका थिए ।
यसअघि उनी रास्वपाबाट समानुपातिक सांसद थिए । त्यसो त, उनी काठमाडौं-५ बाट चुनाव लड्ने तयारीमा पनि थिए । तर, बालेनले सस्मित पोखरेललाई अघि सारेपछि असिम शाह ब्याक भएका थिए ।
रास्वपाले असिम शाहको भाइ आशिफ शाहलाई समानुपातिक सूचीमा राखेको थियो । विवादपछि उनले नाम फिर्ता लिएका थिए । त्यसैगरी, प्रधानमन्त्री शाहले प्रशासन प्रमुखमा सुदिप ढकाललाई नियुक्त गरेका छन् भने मुख्य स्वकीय सचिवमा सुवास शर्मालाई नियुक्त गरेका छन् ।
त्यसैगरी, सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र नियुक्त भएका छन् भने भूपदेव शाह, सुरेन्द्र बजगाईं र अर्जुन घिमिरे पनि सचिवालयमा रहेका छन् । शाहको निजी सचिवालयमा प्रदीप परियारले जिम्मेवारी पाएका छन् । पहिला महानगरको प्रशासकीय अधिकृतसमेत रहेका परियार सहसचिव हुन् । प्रधानमन्त्री शाहको पीएसओ भने प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्याललाई खटाइएको छ।







